गुरुङको निधनमा कांग्रेसले तीन दिन पार्टीको झन्डा आधा झुकाउने – Nepalboli

गुरुङको निधनमा कांग्रेसले तीन दिन पार्टीको झन्डा आधा झुकाउने

   २०८१ बैशाख २७, बिहीबार  

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले पार्टीका पूर्व केन्द्रीय सदस्य सूर्यमान गुरुङको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बिहीबार बिहान बसेको बैठकले गुरुङको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो ।

२०१४ को भद्र अवज्ञा आन्दोलनमा सहभागी भई कांग्रेसको राजनीतिक यात्रा प्रारम्भ गरेका स्वर्गीय गुरुङलाई वि।सं २०१७ मा प्रजातन्त्र अपदस्थ पछि तत्कालीन व्यवस्थाले पक्राउ वारेन्ट जारी गरेको थियो । तत्पश्चात् उनी भारतको दार्जिलिङ निर्वासित भई सशस्त्र संगठनमा सक्रिय रहेको कांग्रेसले जनाएको छ । २०१८ फागुन २२ गते च्याङथापुमा श्रीजंग गुल्ममा आक्रमण गरी कब्जा गर्दाको समयमा र २०१८ चैत्र १७ गते ताप्लेजुङ अदालत, प्रहरी कार्यालय र जेल कब्जा गरी कैदीहरूलाई मुक्त गरेको अभियोगमा उनलाई ट्रिबुनलले जन्म कैदको फैसला गरेको थियो ।

उनले लोकतन्त्र स्थापनाका लागि गरिएका संघर्षका क्रममा स्वर्गीय गुरुङले पटक-पटक जेल जीवन, भारत निर्वासन, नजरबन्द, सम्पत्ति रोक्का जस्ता विविध व्यवधानहरू बेहोरेका थिए ।

उनी कांग्रेस ताप्लेजुङको पटक–पटक जिल्ला सभापति, नेपाल आदिवासी जनजाति संघका पूर्व केन्द्रीय सभापति, नेपाल किसान संघका पूर्व केन्द्रीय महासचिव समेत भएका थिए । उनी २०७३ मा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री र पछि स्थानीय विकासमन्त्री भएका थिए ।

स्वर्गीय गुरुङप्रति सम्मान प्रकट गर्दै कांग्रेसले वैशाख २७, २८ र २९ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र सबै जिल्ला कार्यालयहरूमा झन्डा आधा झुकाउने निर्णय गरेको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

कांग्रेसले गुरुङको शोकमा वैशाख २८ गते शुक्रबारका दिन केन्द्र, प्रदेश तथा जिल्ला कार्यालयहरू बन्द गर्ने निर्णय पनि गरेको छ । यस्तै स्वर्गारोहणको १३ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने र शोक सभाको आयोजना गर्ने मुख्यसचिव पौडेलले बताए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै