सदनलाई बाधारहित सञ्चालन गर्न सभामुखको आग्रह – Nepalboli

सदनलाई बाधारहित सञ्चालन गर्न सभामुखको आग्रह

   २०८१ बैशाख २५, मंगलवार  

सभामुख देवराज घिमिरेले आह्वान गर्नुभएको प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूको बैठकमा प्रतिनिधिसभाको बैठकलाई नियमितरुपमा बाधारहित सञ्चालन गर्ने विषयमा छलफल भएको छ । सभामुखको कार्यालयमा भएको छलफलमा प्रमुख राजनीतिक दलका शीर्ष नेताले सङ्घीय संसद्को काम कारबाहीलाई प्रभावकारी बनाएर जानुपर्ने बताउनुभएको थियो । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभामुख घिमिरेले संसदमा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँग छलफल भएको र यो निरन्तरको प्रक्रिया भएको बताउनुभयो । सभामुख घिमिरेले भन्नुभयो, “विभिन्न समस्या आइरहन्छ, समस्याले सदनलाई अवरोध गर्नु हुँदैन । आजको बसाइँ र छलफलले यही वैशाख २८ गतेदेखि सुरु हुने बैठकलाई सहजरुपमा अगाडि बढाउने महत्त्वपूर्ण आधार तयार पारेको छ ।”

उहाँले सदनलाई सहजरुपमा सञ्चालन गर्ने दायित्व राजनीतिक दलको भएकाले ठुला राजनीतिक दल संसद्लाई समस्याको समाधान गर्ने थलोका रूपमा अगाडि बढाउने विश्वास व्यक्त गर्नुभयो । संसदीय व्यवस्थामा सबै राजनीतिक शक्तिको भूमिका निर्णायक हुने र दलहरूले नै समस्या समाधानका लागि पहल गर्ने सभामुख घिमिरेको भनाइ छ । उहाँले सदनलाई प्रभावकारी बनाउन सबैको साझा र आ-आफ्नो भूमिका रहने जानकारी दिनुभयो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपप्रधानमन्त्री एवम् गृहमन्त्री रबी लामिछानेले सहकारी समस्या समाधानका लागि द्रुतमार्गमा कानुन निर्माण गर्ने विषयमा सरकारले आवश्यक प्रक्रिया थालिसकेको बताउनुभयो ।

कुनै पनि विषयमा प्रश्न उठ्ने बित्तिकै संसदीय छानबिन समिति गठन गरिहाल्नुपर्ने माग उचित नभएको उहाँको भनाइ थियो । सहकारी क्षेत्रमा देखिएको समस्या समाधानका लागि सरकार गम्भीर रहेको र ठगी प्रकरणमा जोडिएका जीवी राईलगायतलाई पक्राउ गर्न सरकार लागिपरेको उहाँले बताउनुभयो । बैठकमा नेपाली कांग्रेसले सहकारी प्रकरणका सम्बन्धमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने विषयलाई पुनः दोहोर्‍याएको छ ।

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सहकारी प्रकरणमा छानबिन समिति गठन गर्नुपर्ने र छानबिन गर्नुपर्ने आफूहरूको धारणा रहेको बताउनुभयो । “हामीले संसदीय छानबिन समितिको कुरा राखेको छौँ । हामीले गृहमन्त्रीको राजीनामा मागेका छैनौँ, प्रश्न उठेपछि संसदीय छानबिन समिति बनाउनुपर्छ भन्ने कुरा राखेका छौँ । सरकारले समिति बनाउँछ भन्ने हाम्रो विश्वास छ”, नेता लेखकले भन्नुभयो । नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले सहजतापूर्वक सदनको बैठक सञ्चालनका लागि कांग्रेसले सहजीकरण गर्ने विश्वास व्यक्त गर्नुभयो । गृहमन्त्रीमाथि प्रश्न उठेका विषयमा सदनमा बोल्न दिनुपर्छ र कांग्रेस सुन्न तयार नभएपनि आफ्नो पार्टी सुन्न तयार रहेको नेता बर्तौलाले बताउनुभयो ।

सहकारीपीडितबारेमा कुनै कुरा नराखी अरूलाई निषेध गर्ने तरिकाबाट जाने कांग्रेसको तरिका सही नभएकोसमेत उहाँले उल्लेख गर्नुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले सभामुखले आयोजना गर्नुभएको बैठकमा महत्त्वपूर्ण छलफल भएको र समस्या समाधानमा केन्द्रित रहेको बताउनुभयो । यही वैशाख २८ गतेदेखि सुरु हुन लागेको सङ्घीय संसद्को बैठकलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको उहाँले उल्लेख गर्नुभयो ।

बैठकमा नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीले सहकारीको रकम हिनामिनाका विषयमा उपप्रधान एवम् गृहमन्त्री लामिछानेले संसदमा बोल्न पाउनुपर्ने बताउनुभएको प्रमुख सचेतक परियारले जानकारी दिनुभयो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत प्रतिनिधि सभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूको सहभागिता थियो ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै