इ–चुरोटको आयात र उत्पादनमा प्रतिबन्ध लगाउन पत्राचार
इलेक्ट्रोनिक सिगरेटको आयात, उत्पादन तथा उपभोगमा प्रतिबन्ध लगाउन सरकारले कानुनी व्यवस्था कार्यान्वयन गर्ने प्रक्रिया अघि बढाएको छ । स्वास्थ्य मन्त्रालयले निर्देशिकामा नै उत्पादन आयात तथा उपभोगलाई प्रतिबन्ध लगाउने सम्बन्धी व्यवस्था भए पनि भन्सारबाट धमाधम आयात हुन थालेपछि पुनः कानुनी व्यवस्थाबारे स्मरण गराएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, अर्थ मन्त्रालय, भन्सार विभाग, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई पत्र लेखेर पठाइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक दशक अघि नै यससम्बन्धी कानुन बनाएको भए पनि कार्यान्वयन भने भएको थिएन ।