अडियो उपलब्ध गराउने तिमल्सिनालाई हिरासतमा राख्न सर्वोच्चको आदेश
सर्वोच्च अदालतले सिधा कुरा अनलाइनलाई अडियो उपलब्ध गराउने राजकुमार तिमल्सिनालाई प्रहरीको जिम्मा लगाउन आदेश दिएको छ । गोदावरीका तिमल्सिनालाई बयान नसकिएको भन्दै सर्वोच्च अदालतले सोमबार बिहान उपस्थित गराउनू भनी प्रहरीको जिम्मा लाएको हो ।
आदेशमा भनिएको छ, ‘राजकुमार तिम्सिनाको बयान कार्य प्रारम्भ भएको तर सम्पन्न हुन नसकेकाले २४ वैशाख, २०८१ (सोमबार) १० बजे बयानलाई निरन्तरता दिने प्रयोजनका लागि निजलाई उपस्थित गराउने गरी यस अदालतका रजिस्ट्रार मार्फत प्रहरीलाई जिम्मा लगाउनू ।’
सिधा कुराका प्रकाशक युवराज कँडेल र कार्यकारी सम्पादक नवीन ढुंगानाको भने बयान सकिएको भन्दै तारिखमा राख्न आदेश दिएको छ । सर्वोच्च अदालतले बयान नसकिएको भन्दै मुद्दा सोमबारका लागि हेर्दाहेर्दैमा राखेको छ ।