काठमाडौँको महानगरको एक महिने सीप-मेला टुँडिखेलमा सुरु – Nepalboli

काठमाडौँको महानगरको एक महिने सीप-मेला टुँडिखेलमा सुरु

   २०८१ बैशाख १९, बुधबार  

काठमाडौँ महानगरपालिकाले ‘विश्व मजदुर दिवस’ को अवसर पारेर आजदेखि टुँडिखेलमा ‘सिप मेला २०८१’ सुरु गरेको छ । २ हजार ८१ जनालाई निःशुल्क सिपमुलक तालिम दिने र तालिम लिएकाहरुलाई ‘रोजगार’, ‘स्वरोजगार’ र ‘अन द जब ट्रेनिङ्’ उपलब्ध गराउने लक्ष्यसहित मेला थालिएको हो । सिलाइका लागि कपडा काटेर र काटिएको कपडालाई मेसिनमा सिलाएर मेलाको समुद्घाटन गर्दै महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले, विगतका तालिमभन्दा अहिलेको तालिम फरक विशेषताको भएको बताउनुभयो ।

‘विगतमा पनि धेरै तालिम धेरै भए तर जनशक्ति आवश्यक पर्ने ठाउँमा सिपयुक्त जनशत्तिःको सधैँ अभाव नै छ । यो हेरेपछि हामीलाई थाहा भयो, तालिम दिनेले दिँदैमा र लिनेले लिँदैमा नतिजा नआउँदैन । विगतको यो अभ्यासलाई सुधार गर्दै हामीले उपलब्ध गराउने तालिमलाई ‘रोजगार’, ‘स्वरोजगार’ र ‘अन द जब ट्रेनिङ्’ सँग जोडेका छौँ ।’ उहाँको भनाइ थियो ।

यति धेरै सहभागी देख्दा थप जिम्मेवारी महसुस भएको छ । कार्यक्रम उपस्थित सहभागिताको प्रसङ्ग उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘धेरै संख्या देख्या एकातिर महानगरपालिकाप्रति यहाँहरुले गर्नुभएको विश्वासप्रति अझै काम गर्नु पर्ने महसुस भयो । अर्कोतिर देशमा वेरोजगारको ’यसलाई स्थानीय तहमा विस्तार गर्नु पर्ने देखियो । उहाँले थप्दै भन्नुभयो, ‘हामी आफैँसँग रोजगारीका अवसर छन् । यसलाई पहिचान गरौँ । यहीँ केही गर्न सकिन्छ । गरी खाने वातावरण बनाउन सकिन्छ । यतातिरको मनोविज्ञान विकास गरौँ ।’

सिपयुक्त जनशक्तिको माग र आपूर्तिका बिचमा अहिले देखिएको खाडल घटाउने तालिमको उद्देश्य हो ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले भन्नुभयो, ‘हामीले तालिम दिएका व्यक्तिहरु कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, हामी निरन्तर निगरानी गरिरहन्छौँ । उहाँले व्यावसायिक रुपमा प्राप्त गर्नुभएको उपलब्धीलाईं महानगरपालिकाका नयाँ तालिम कार्यक्रम सञ्चालन योजनामा आवद्ध गर्छौँ ।’ उहाँले काठमाडौँमा रहेका अनौपचारिक क्षेत्रका जनशक्तिलाई तालिम दिएर औपचारिक क्षेत्रमा ल्याउने बताउनुभयो ।

व्यक्तिको रुचि र उमेर समूह, रोजगारदाताको आवश्यकताका आधारमा हामीले तालिम कार्यक्रम गरिरहेका छौँ । सामाजिक विकास समितिका संयोजक रामकुमार के। सी। ले भन्नुभयो, ‘हामीसँग भएको क्षमतालाई पूर्ण उपयोग गरौँ । साना र स्थानीय सिपलाई बढाउन थालौँ । काम सानो र ठूलो हुँदैन । महत्वपूर्ण कुरा भनेको आय हो ।’ उहाँले तालिमको नतिजाका आधारमा थप कार्यक्रम तर्जुमा गरिने जानकारी दिनुभयो ।

अनलाइनबाट फाराम भर्न छुटेका वा अनलाइन फाराम भनै नसक्नेहरुले टुँडिखेलमै आएर फाराम भर्नु भएको छ । यसरी फाराम भर्नेको संख्या उल्लेख छ । फारामहरुलाई कम्प्युटरमा भर्ने काम भइरहेको छ ।

उद्घाटन समारोहमा करिब ५ हजार ५ सय व्यक्ति सहभागी हुनुभएको सामाजिक विकास विभागका निमित्त प्रमुख बिमला कोइरालाले जानकारी दिनुभयो ।

‘शिक्षालाई सिपसँग’, ‘सिपलाई श्रमसँग’ र ‘श्रमलाई उत्पादनसँग’ जोडेर सिप नहुनेलाई सिपयुक्त बनाउनु, सिप भएकालाई रोजगार तथा स्वरोजगार बनाउनु, रोजगारमा भएका तर सिप नभएकाहरुको व्यावसायिक स्तर वृद्धि गराएर आयमा वृद्धि गराउनु तालिम सञ्चालनको मुख्य उद्देश्य हो । १ महिनामा २ हजार ८१ जनालाई उच्च माग भएका पेशासँग सम्बन्धित निःशुल्क तालिम उपलब्ध गराउनु कार्यक्रमका क्रियाकलाप हुन् ।

तालिममा उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ, नेपाल (हिसान), नेपाल उद्योग परिसंघ (सीएनआइ), नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ (एफपी टीइएन), ग्लोकल, सिप्रदी ट्रेडिङ् र सीसीटिभी स्टेशन एण्ड स्मार्ट होमसँग तालिम सञ्चालन गर्न सहकार्य भएको छ । तालिम कार्यक्रममा रोजगारदाता (सरकारी, गैरसरकारी, निजी, उद्योग तथा वाणिज्य क्षेत्र, दातृ निकाय), शैक्षिक क्षेत्र (विद्यालय, विश्वविद्यालय र तालिम प्रदायक संघ संस्था), सामाजिक क्षेत्र सबै एकै ठाउँ छन् ।

सिप विकासका लागि महानगरपालिकाले सञ्चालन गरेका अरु पनि तालिमका कार्यक्रम छन् । सामुदायिक विद्यालयको कक्षा ९ र १० मा ‘पुस्तकरहित शुक्रबार’ कार्यक्रमअन्तर्गत छोटो अवधिको सिपमूलक तालिम सञ्चालन हुन्छ । महानगर गौरव योजनाअन्तर्गत ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ कार्यक्रममा ३४ भन्दा धेरै पेशाका सिपमूलक तालिम छन् । ‘साइबर सेक्युरिटी’ मा ४ हजार व्यक्ति तालिम प्रदान गरिँदैछ । नजानेकालाई सिप सिकाउने, सिपको आधारभूत तालिम लिएकालाई स्तरोन्नति गराएपछि बजारमा सिपयुक्त जनशक्ति उपलब्ध हुनेछन् । यी सबै कार्यक्रमबाट उत्पादन भएका जनशक्तिहरुलाई ‘सिप मेला’ मा रोजगारदाताहरुसँग सम्पर्क गराउनु मेला आयोजनाको अर्को उद्देश्य हो ।

व्यावसायिक सिपका विषयमा जागरण सिर्जना हुने, समुदाय  स्तरमा तालिम सञ्चालनको वातावरण निर्माण हुने, रोजगारी र उद्यमशीलताका लागि युवाहरुमा क्षमता विकास हुने अपेक्षा गरिएको छ ।

सिप मेलामा तालिमका लागि १० वटा क्षेत्र निर्धारण गरिएका छन् । क्षेत्रभित्र २९ प्रकारका पेशागत तालिम हुनेछन् । मागका आधारमा थप क्षेत्र र पेशा थप गर्ने योजना छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै