मधेस प्रदेशमा मन्त्रिमण्डल विस्तार, भरत साहद्धारा मन्त्रालयको जिम्मेवारी अस्विकार्य
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिमण्डल विस्तार गरेका छन् । विस्तारित मन्त्रिमण्डल १५ सदस्यीय बनेको छ । मुख्यमन्त्री यादवले नेकपा एमाले, जसपा, माओवादी केन्द्र र जपालाई समेटेर मन्त्रिमण्डल विस्तार गरेका हुन् । नवनियुक्त मन्त्रीहरूको कार्य विभाजन समेत गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
नयाँ मन्त्रीहरूको जिम्मेवारीअनुसार सरोकुमार यादव भौतिक पूर्वाधार विकास, भरतप्रसाद साह वन तथा वातावरण, सञ्जयकुमार यादव अर्थ, गोविन्दबहादुर न्यौपाने भूमि व्यवस्था, कृषि सहकारी, सरिताकुमारी साह खेलकुद तथा समाज कल्याण, राजकुमार लेखी गृह सञ्चार तथा कानुन, सिंगासन सा कलवार ऊर्जा सिँचाई तथा खानेपानी, शत्रुधन सिंहले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
त्यसैगरी युवराज भट्टराई उद्योग वाणिज्य तथा आपूर्ति, प्रमोदकुमार जयसवाल शिक्षा, मेची लुंगेलीले श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी पाएका छन् । राज्यमन्त्रीहरूमा अवुल कलाम आजाद ऊर्जा तथा सिँचाई, केशव राय स्वास्थ्य तथा जनसङ्ख्या र शारदा थापा गृह सञ्चार तथा कानुन मन्त्रालय रहेका छन् ।
पूर्व सहमति तोडेकाले जिम्मेवारी अस्वीकार गरेको हुँ – भरत साह
मुख्यमन्त्री सरोजकुमार यादवले पूर्व सहमति पालना गरेको भन्दै माओवादीबाट मन्त्री भएका भरत साहले वन मन्त्रालयको जिम्मेवारी लिन अस्वीकार गरेका छन् । माओवादी संसदीय दलका नेता समेत रहेका साहलाई मुख्यमन्त्री यादवले आइतबार वन मन्त्रालयको जिम्मेवारी दिएका थिए । तर माओवादीलाई अर्थमन्त्री बनाउने पूर्व सहमति मुख्यमन्त्रीले पालना नगरेकाले जिम्मेवारी लिन अस्वीकार गरेको साहले बताए ।
‘उहाँले विश्वासको मत लिनअघि माओवादीलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिने सहमति भएको थियो । शपथ लिइसकेपछि पूर्व सहमतिविपरित उहाँले वन मन्त्रालयको जिम्मेवारी दिनुभयो । त्यसैलै जिम्मेवारी नस्वीकारेको हो’, साहले भने ।
मुख्यमन्त्री यादवले वैशाख ६ गते माओवादीबाट साहसहित युवराज भट्टराई र एकीकृत समाजवादीबाट बेची लुँगेलीलाई मन्त्रीमा नियुक्ति दिएका थिए ।