एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु, आज प्रतिवेदनमाथी समूहगत छलफल – Nepalboli

एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु, आज प्रतिवेदनमाथी समूहगत छलफल

   २०८१ बैशाख ९, आईतवार  

नेकपा (एमाले) को महाधिवेशन प्रतिनिधि परिषद बैठक शनिवार देखि सुरु भएको छ। शनिबार ललितपुरको गोदावरीस्थित सनराईज हलमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सो परिषद् बैठकको औपचारिक रुपमा शुभारम्भ गरेका हुन्।

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जनताको आशा र भरोसालाई आफ्नो पार्टीले सम्बोधन गरी छोड्ने दृढता व्यक्त गरेका छन्। अध्यक्ष ओलीले पार्टीको तर्फबाट राजनीतिक प्रतिवेदन पेस गरेका हुन्। यसपछि महासचिव शंकर पोखरेलले सांगठानिक प्रतिवेदन पेस गर्नेछन्।

बैठकमा केन्द्रीय सदस्यसहित २ हजार ४५४ जना प्रतिनिधिहरु सहभागी भएको एमालेले जनाएको छ।

आज समुहगत छलफल

नेकपा एमालेको जारी महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा शनिबार पेस भएका प्रतिवेदनमाथि आज समूहगत छलफल हुँदैछ । प्रतिवेदन पारित गरेर बैठक आजै सक्ने तालिका रहेको जनाइएको छ ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक र महासचिव शङ्कर पोखरेलको साङ्गठनिक प्रतिवेदन, अनुशासन आयोगका अध्यक्ष केशव बडाल, केन्द्रीय लेखा आयोगका अध्यक्ष डा पुष्पराज कँडेल, केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बा र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहराका प्रतिवेदनमाथि छलफल हुनेछन् ।

बैठकबाट वर्ष २०८१ लाई पार्टी शुद्धीकरण तथा सुदृढीकरण वर्षका रूपमा अभियान सञ्चालन गर्ने विस्तृत कार्ययोजना छलफलसहित पारित गराउने तयारी रहेको एमालेको केन्द्रीय प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन् । एमालेले आफूलाई शुद्धीकरण र सुदृढीकरण गर्दै पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिमा रुपान्तरणका लागि चाल्नुपर्ने कदमबारे राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्का सदस्यसँग सुझाव मागेको छ ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै