भारत सरकारको आर्थिक सहयोगमा दार्चुलामा एक विद्यालय भवनको उदघाटन तथा एकको शिलान्यास

दार्चुलाको व्याँस गाउँपालिकाका अध्यक्ष मंगल सिंह धामी र भारतीय राजदूतावास, काठमाडौंका द्वितीय सचिव प्रशान्त कुमार सोनाले भारत सरकारको नेपाली २.८२ करोड आर्थिक सहयोगमा निर्माण हुने दार्चुलाको व्याँस गाउँपालिका–६ स्थित श्री हिमालय माध्यमिक विद्यालयको विद्यालय भवनको शिलान्यास शुक्रवार गरेका छन ।
त्यस्तै भारत सरकारको नेपाली ३.३७ करोडमा निर्माण गरिएको दार्चुलाकै दुहुँ गाउँपालिकास्थित श्री जनविकास माध्यमिक विद्यालयको विद्यालय भवनको दुहुँ गाउँपालिकाका अध्यक्ष नरेन्द्रबहादुर सिंह बडाल र भारतीय राजदूतावास, काठमाडौंका द्वितीय सचिव प्रशान्त कुमार सोनाले संयुक्त रुपमा उद्घाटन गरेका छन ।
दवै कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालय व्यवस्थापनका प्रतिनिधि, शिक्षक शिक्षिका, अभिभावक तथा विद्यार्थीहरुको पनि उपस्थिति रहेको थियो ।
‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गतको भारत सरकारको अनुदान सहयोग व्याँस गाउँपालिकास्थित श्री हिमालय माध्यमिक विद्यालयलाई आवश्यक अन्य सुविधासँगै दुई तल्ले विद्यालय भवन, शौचालय, पर्खाल र प्रवेशद्वार निर्माणमा उपयोग गरिनेछ । त्यस्तै भारत सरकारको अनुदान सहयोग दुहुँ गाउँपालिकास्थित श्री जनविकास माध्यमिक विद्यालयलाई आवश्यक अन्य सुविधासँगै विद्यालय भवनको निर्माणमा उपयोग गरिएको थियो ।
भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौता अन्तर्गत यी दुवै परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको हो । श्री हिमालय माध्यमिक विद्यालयका लागि परियोजनाको कार्यान्वयन व्याँस गाउँपालिकामार्फत गरिनेछ भने श्री जनविकास माध्यमिक विद्यालयका लागि परियोजनाको कार्यान्वयन दुहुँ गाउँपालिकामार्फत गरिएको हो ।
सन् २००३ यता भारत सरकारले नेपालका विभिन्न क्षेत्रमा ५५१ वटा भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएको छ र ४८९ वटा परियोजना सम्पन्न गरिसकेको छ । यी मध्ये सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रमा ४० वटा परियोजना रहेका छन् जसमा १० वटा परियोजना दार्चुलामा छन् । यसका साथै भारत सरकारले स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई १००९ वटा एम्बुलेन्स र ३०० वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिसकेको छ जसमध्ये सुदूरपश्चिम प्रदेशलाई ६० वटा एम्बुलेन्स र २० वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिएको छ । यसमा ८ वटा एम्बुलेन्स र २ वटा स्कुल बस दार्चुला जिल्लालाई उपलब्ध गराइएको छ ।