एमाले अनिर्णीत हुँदा मुख्यमन्त्रीको दाबी प्रस्तुत भएन – Nepalboli

एमाले अनिर्णीत हुँदा मुख्यमन्त्रीको दाबी प्रस्तुत भएन

   ५ बैशाख २०८१, बुधबार  

सुदूरपश्चिम सङ्घीय समीकरणमा रहेका दल मिलेर सुदूरपश्चिममा नेकपा (एकीकृत समाजवादी) लाई मुख्यमन्त्री दिने सहमति भए पनि नेकपा (एमाले) ले कुनै निर्णय नगर्दा बुधबार साँझसम्म मुख्यमन्त्रीको दावेदारी प्रस्तुत हुन सकेन ।

प्रदेश प्रमुख नजिर मियाँले मङ्गलबार दुई दिने समयसीमा दिएर वैशाख ६ गतेसम्म नेपालको संविधानको धारा १६८ को उपधार २ बमोजिम दुई वा दुईभन्दा बढी दल मिलेर मुख्यमन्त्रीमा दावेदारी गर्न आह्वान गर्नु भएको थियो । सोही आह्वान अनुसार बुधबार बिहान ८ बजे नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति र स्वतन्त्रको बैठक बसेर दिउँसो दावेदारी प्रस्तुत गर्ने बताइएको थियो । तर एमाले अनिर्णीत बन्दा दावेदारी प्रस्तुत हुन सकेन ।

एमालेको केन्द्रीय नेतृत्वले एकीकृत समाजवादीका दलका नेता दीर्घबहादुर सोडारीका पक्षमा सहमति दिनु भन्ने निर्देशन नदिएको कारण एमालेका संसदीय दलका नेता राजेन्द्रसिंह रावल अलमलिएको बताइन्छ । नेकपा (एमाले) का प्रदेश सभा सदस्य धर्मराज पाठकले बिहीबारसम्म मुख्यमन्त्रीको दाबीका विषयमा टुङ्गो लाग्ने बताउनुभयो ।

नेकपा (माओवादी केन्द्र) का उपनेता अक्कलबहादुर रावलले आफूहरू दिनभर पर्खेर बसे पनि एमालेका नेताहरू नआएपछि मुख्यमन्त्रीको दाबी हुन नसकेको बताउनुभयो ।

एकीकृत समाजवादीको सुदूरपश्चिम प्रदेश सभाको दलको बैठकले दलका नेता सोडारीलाई मङ्गलबार नै मुख्यमन्त्रीका रूपमा अघि सार्ने निर्णय गरिसकेको छ । सो पार्टीको केन्द्रीय सचिवालयको बुधबार बसेको बैठकले पनि सोडारीलाई नै अघि सार्ने निर्णय गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै