चिया निर्यातमा गिरावट- चालु आर्थिक वर्षको पाँच महिनामा एक अर्ब सतासी करोडको निर्यात – Nepalboli

चिया निर्यातमा गिरावट- चालु आर्थिक वर्षको पाँच महिनामा एक अर्ब सतासी करोडको निर्यात

   २०८० पुष १८, बुधबार  

देशमा उत्पादित चियाको निर्यातमा गिरावट आएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको पाँच महिनामा एक अर्ब ८७ करोड १७ लाख ७२ हजार रुपियाँ बराबरको ७१ लाख ८१ हजार १४० किलो चिया निर्यात भएको छ । गत वर्षको सोही अवधिमा दुई अर्ब २३ करोड २१ लाख ५२ हजार रुपियाँ बराबरको एक करोड ६५ हजार ५३० किलो चिया निर्यात भएको थियो ।

चालु आवमा गत आवको तुलनामा ३६ करोड तीन लाख ८० हजार रुपियाँको चिया निर्यातमा कमी आएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका प्रवक्ता डा दीपक खनालले स्पेसल किसिमको चियामा लागत अनुसार मूल्य नपाउँदा उत्पादकले चिया बिक्री नगरी मौज्दात राख्दा निर्यातमा कमी आएको जानकारी दिए । स्पेसल चिया, ग्रिन टी र गोल्डेन टीको निर्यात कम हुँदा समग्र निर्यातमा सामान्य कमी आएको उनको भनाइ छ ।

ग्रिन टी, ह्वाइट, गोल्डेन टी र सिल्भर जस्ता चिया स्पेसलमा पर्ने र यिनीहरूको मूल्य अरू साधारण चियाको भन्दा बढी पर्ने गरेको छ । नेपालमा सिटिसी र अर्थोडक्स चिया उत्पादन हुने गरेको छ । नेपालको ३० जिल्लामा २० हजार २३७ हेक्टर क्षेत्रफलमा चियाको खेती हुँदै आएको छ । सबै प्रकारको गरी वार्षिक दुई करोड ६३ लाख ७९ हजार ४९३ किलो चिया उत्पादन हुन्छ । यसमध्ये एक करोड ८९ हजार दुई हजार आठ सय किलो सिटिसी चिया उत्पादन हुन्छ भने अर्थोडक्स ६५ लाख ८७ हजार ८७१ किलो र ग्रिन टी सात लाख ३२ हजार ८११ किलो उत्पादन हुन्छ ।

कुल चियाको उत्पादनमध्ये पनि झन्डै ५५ प्रतिशतभन्दा बढी सिटिसी चिया मात्रै उत्पादन हुँदै आएको छ । इलाम, पाँचथर, धनकुटा, कास्की, लमजुङ, तेह्रथुम, ताप्लेजुङ, भोजपुर, खोटाङ, चितवन, सिन्धुली, पर्वत, काभ्रे, गोर्खा, दोलखा, ललितपुर, रामेछाप, प्युठान, अर्घाखाँचीलगायतका जिल्लामा चिया खेती हुने गरेको छ । मुलुकमा उत्पादन भएको चिया अस्ट्रेलिया, क्यानडा, चीन, डेनमार्क, फ्रान्स, जर्मनी, भारत, जापान, इटाली, नेदरल्यान्ड, अमेरिका, पोल्यान्ड, स्विडेन, थाइल्यान्ड, ताइवानलगायतका देशमा निर्यात हुने गरेको छ ।

पहिलो चिया परीक्षण तथा प्रवर्द्धन केन्द्र निर्माण सम्पन्न

चिया परीक्षण तथा प्रवर्द्धन केन्द्रको निर्माण सम्पन्न भएको छ । इलामको सूर्योदय नगरपालिकास्थित कन्याममा केन्द्रको निर्माण गरिएको हो । प्रदेश सरकारको ८० प्रतिशत र सूर्योदय नगरपालिकाको २० प्रतिशत साझेदारीमा निर्माण गरिएको केन्द्र सञ्चालनमा आएपछि नेपाली चियालाई बजारीकरणका ठुलो सहयोग पुग्ने अपेक्षा लिइएको छ ।

कूल १५ करोड २३ लाख रुपियाँको लगानीमा निर्माण गरिएको केन्द्रको पाँच वटा ‘ब्लक’ त्यसभित्र म्युजियम, क्यान्टिन, कप टेस्टिङ, सेमिनार हल र प्रयोगशालाको निर्माण गरिएको जनाइएको छ ।

केन्द्र सञ्चालनमा आएपछि नेपाली चियाको गुणस्तर मापन, परीक्षण र अन्तर्राष्ट्रिय बजारीकरणका लागि सहयोग पुुग्ने छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै