वैशाख १० र ११ गते लगानी सम्मेलन गर्ने सरकारको तयारी
सरकाले आगामी २०८१ साल वैशाख १० र ११ गते लगानी सम्मेलन गर्ने भएको छ। आइतबार राजधानीमा आयोजित एक छलफल कार्यक्रममा अर्थमन्त्री डा। प्रकाशशरण महतले सो जानकारी दिएका हुन्।
कार्यक्रममा मन्त्री महतले लगानीकर्ताको लगानी सुनिश्चित गर्ने बताए। ‘सम्मेलनकै लागि सम्मेलन हुँदैन’ मन्त्री महतले भने, ‘यसको उद्देश्य सक्षम लगानीकर्ता समक्ष प्रस्ताव राख्ने, त्यस्तो लगानीकर्ताको लगानी सुनिश्चित गर्ने र लगानी प्रतिबद्धतालाई फलोअप गर्ने र रियलाइजेसन गर्ने हो।’
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले लगानी सम्मेलन सातवटै प्रदेशले गर्नुपर्ने बताए। त्यसले गर्दा त्यहाँका स्थानीयले आफ्ना आयोजना र आइडियाहरू उजागर गर्ने उनको भनाई थियो।
‘अनुभवलाई हेर्दा यो समय निकै कम हो। ऊर्जा क्षेत्रमा मात्रै अध्ययन भएका प्रोजेक्ट छन्। अन्य क्षेत्रमा अध्ययन कम छन्। लजिस्टिक महँगो छ’ उनले भने, ‘लिएको नीतिबाट फिर्ता हुनुभएन। सम्मेलनमा छुट र सुविधाको पनि कुरा आयो। सातवटा प्रदेशले कुनै न कुनै सम्मेलन गर्नुपर्छ। त्यहाँका स्थानीयले आफ्ना आयोजना र आइडियाहरू उजागर गर्छन्। प्री–सम्मिट गर्नुपर्छ। मिनेट पनि नाश नगरी लाग्नु पर्यो। घण्टा त पर जाओस्।’