बालेनको भारत भ्रमणलाई लिएर दिल्लीमा विशेष तयारी, ठाउँठाउँमा फहराइए नेपाल–भारतका झण्डा – Nepalboli

बालेनको भारत भ्रमणलाई लिएर दिल्लीमा विशेष तयारी, ठाउँठाउँमा फहराइए नेपाल–भारतका झण्डा

   २०८३ मंसिर ७, आईतवार  

काठमाडौं— प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को दुईदिने भारत भ्रमण सुरु हुनुअघि भारतीय राजधानी नयाँदिल्लीमा नेपाल–भारत सम्बन्ध झल्काउने गरी विशेष तयारी गरिएको छ । प्रधानमन्त्री शाहको स्वागतका लागि दिल्लीका विभिन्न चोक तथा सार्वजनिक क्षेत्रमा नेपाल र भारतका राष्ट्रिय झण्डा राखिएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री शाह आज दिउँसो नयाँदिल्ली प्रस्थान गर्दैछन् । प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि उनको यो पहिलो विदेश भ्रमण हो ।

प्रधानमन्त्री शाहको भ्रमणलाई लक्षित गर्दै भारतीय पक्षले स्वागत, सुरक्षा, कूटनीतिक समन्वय तथा कार्यक्रम व्यवस्थापनलाई प्राथमिकतामा राखेको छ। दिल्लीस्थित नेपाली दूतावासले पनि भ्रमणका कार्यक्रमलाई व्यवस्थित बनाउन भारतीय पक्षसँग आवश्यक समन्वय गरिरहेको छ ।

भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । त्यस्तै, भारतीय विदेशमन्त्री डा. एस. जयशंकरले आजै प्रधानमन्त्री शाहसँग भेटवार्ता गर्नेछन् ।

प्रधानमन्त्री शाहले सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्नेछन् । वार्तामा नेपाल–भारत सम्बन्धका साथै व्यापार, पारवहन, ऊर्जा, लगानी, सम्पर्क सञ्जाल तथा पूर्वाधार विकासलगायतका विषयमा छलफल हुने बताइएको छ ।

भ्रमणका क्रममा ऊर्जा तथा सम्पर्क सञ्जालसँग सम्बन्धित सम्पन्न परियोजनाको उद्घाटन र नयाँ परियोजनाको शिलान्यास गर्ने कार्यक्रमसमेत छ । शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन तथा मानव संसाधन विकासका क्षेत्रमा सहकार्य विस्तार गर्न विभिन्न समझदारीपत्र आदानप्रदान गर्ने तयारी गरिएको छ ।

प्रधानमन्त्री शाहले सोमबार राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा श्रद्धासुमन अर्पण गर्नेछन् । साथै, नेपाल–भारत बिजनेस फोरमलाई सम्बोधन गर्दै भारतीय व्यवसायीलाई नेपालमा लगानीका सम्भावना र सरकारले अघि सारेका नीतिबारे जानकारी गराउने कार्यक्रम छ ।

प्रधानमन्त्री शाहको भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका सल्लाहकार, उच्चपदस्थ सरकारी अधिकारी, व्यवसायी तथा सञ्चारकर्मी सहभागी हुनेछन् ।

दुईदिने भ्रमण पूरा गरी प्रधानमन्त्री शाह सोमबार साँझ ६ः३५ बजे नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै