मधेशमा यादवले सम्हाल्दैछन् सरकारको नेतृत्व, आज शपथ
जनकपुरधाम— मधेश प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आज पद तथा गोपनीयताको शपथ लिँदैछन् ।
प्रदेश प्रमुखको कार्यालयका अनुसार मुख्यमन्त्री यादवले आइतबार बिहान १० बजे प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णसमक्ष शपथ लिने कार्यक्रम तय भएको छ ।
प्रदेशसभामा कुनै पनि दलले स्पष्ट बहुमत हासिल गर्न नसकेपछि संविधानको धारा १६८ को उपधारा (३) अनुसार प्रदेशसभाको सबैभन्दा ठूलो दलको संसदीय दलका नेताको हैसियतमा यादवलाई शनिबार मुख्यमन्त्री नियुक्त गरिएको हो ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता यादवलाई प्रदेश प्रमुख कर्णले संविधानले दिएको अधिकार प्रयोग गर्दै मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
शपथग्रहणसँगै यादवले मधेश प्रदेश सरकारको नेतृत्व औपचारिक रूपमा सम्हाल्नेछन् । अब उनले प्रदेश सरकारलाई पूर्णता दिन तथा आगामी कार्यदिशा तय गर्नुपर्नेछ ।
प्रदेशसभाको अंकगणितका कारण नयाँ सरकारको स्थायित्व र आगामी राजनीतिक समीकरणलाई समेत चासोका साथ हेरिएको छ । मुख्यमन्त्री यादवले विश्वासको मत जुटाउनुपर्ने भएकाले सरकार गठनपछि प्रदेशसभाभित्रको राजनीतिक सहकार्य र दलहरूको समर्थन निर्णायक बन्ने देखिएको छ ।