प्रधानमन्त्री शाहको पहिलो विदेश भ्रमण आज – Nepalboli

प्रधानमन्त्री शाहको पहिलो विदेश भ्रमण आज

   २०८३ मंसिर ७, आईतवार  

काठमाडौं— प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) आज दुईदिने औपचारिक भारत भ्रमणमा जाँदैछन् । प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि उनको यो पहिलो विदेश भ्रमण भएकाले यसलाई नयाँ सरकारको विदेश नीति र नेपाल–भारत सम्बन्धप्रतिको प्राथमिकता परीक्षणका रूपमा हेरिएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा हुन लागेको भ्रमणका क्रममा प्रधानमन्त्री शाह नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत आज दिउँसो १ः४५ बजे नयाँदिल्ली प्रस्थान गर्नेछन् । भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनालसहित ३४ सदस्य सहभागी हुनेछन् ।

नयाँदिल्ली पुगेपछि आज साँझ भारतीय विदेशमन्त्री एस. जयशंकरले प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । सोमबार भने प्रधानमन्त्री शाहले भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् ।

द्विपक्षीय भेटवार्तामा नेपाल–भारत व्यापार तथा पारवहन, ऊर्जा, लगानी, पूर्वाधार विकास, हवाई मार्ग र आर्थिक साझेदारीका विषय प्राथमिकतामा पर्ने अपेक्षा गरिएको छ । विशेषगरी नेपालको जलविद्युत् उत्पादन र भारतमा विद्युत् निर्यात, सीमापार प्रसारण लाइन विस्तार तथा व्यापार सहजीकरणलाई महत्वपूर्ण एजेन्डाका रूपमा हेरिएको छ ।

नेपालका विकास निर्माणका परियोजनामा लगानी र दुई देशबीच आर्थिक सहकार्य विस्तारको विषय पनि छलफलमा आउने सम्भावना छ । पछिल्लो समय नेपालको ऊर्जा क्षेत्र भारतसँगको आर्थिक सहकार्यको महत्वपूर्ण आधार बन्दै गएकाले विद्युत् उत्पादनदेखि प्रसारण र निर्यातसम्मका विषयमा भ्रमणका क्रममा थप समझदारी बन्न सक्ने अपेक्षा गरिएको छ ।

त्यस्तै, हवाई मार्ग विस्तार र पूर्वाधार विकासका विषयले पनि भ्रमणमा महत्व पाउनेछन् । नेपालको बढ्दो हवाई तथा आर्थिक गतिविधिलाई ध्यानमा राख्दै दुई देशबीचको कनेक्टिभिटी विस्तारलाई नयाँ सरकारको प्राथमिकतासँग जोडेर हेरिएको छ ।

नेपाल र भारतबीच खुला सीमा, व्यापार, रोजगारी, पारवहन तथा धार्मिक–सांस्कृतिक सम्बन्धका कारण बहुआयामिक साझेदारी रहँदै आएको छ । यस्तो पृष्ठभूमिमा प्रधानमन्त्री शाहको भ्रमण केवल औपचारिक कूटनीतिक भेटमा सीमित नरही आर्थिक सहकार्यलाई नयाँ ढंगले अघि बढाउने अवसर बन्ने अपेक्षा गरिएको छ ।

प्रधानमन्त्री शाहको पहिलो विदेश भ्रमण भएकाले भारतसँगको सम्बन्धमा नयाँ सरकारले कस्तो प्राथमिकता तय गर्छ भन्नेमा पनि चासो छ । भ्रमणका क्रममा हुने उच्चस्तरीय वार्ता, सम्भावित सहमति र उठाइने विषयले आगामी दिनमा नेपाल–भारत सम्बन्धको आर्थिक तथा कूटनीतिक दिशा निर्धारण गर्न महत्वपूर्ण भूमिका खेल्ने देखिन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै