प्रधानमन्त्री शाहको भारत भ्रमणमा सहमतिको गृहकार्य तीव्र, एजेन्डा अन्तिम चरणमा
काठमाडौं— प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमणलाई परिणाममुखी बनाउने गरी सरकारले एजेन्डा र सम्भावित समझदारीको गृहकार्यलाई तीव्रता दिएको छ । मंसिर ६ र ७ गते हुने भ्रमणका क्रममा दुई देशबीचको सम्बन्धलाई थप बहुआयामिक सहकार्यतर्फ अघि बढाउने विषयलाई प्राथमिकतामा राखिएको छ ।
प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुने एकल तथा प्रतिनिधिमण्डलस्तरीय वार्तामा प्रस्तुत गरिने राष्ट्रिय एजेन्डालाई अन्तिम रूप दिन परराष्ट्र मन्त्रालय र प्रधानमन्त्री कार्यालयले संयुक्त रूपमा काम गरिरहेका छन् ।
बिहीबार परराष्ट्र मन्त्रालयमा भ्रमणका प्रस्ताव, एजेन्डाको विषयवस्तु, भाषाशैली तथा दस्ताबेजमा प्रयोग हुने शब्दावलीबारे विस्तृत छलफल भएको थियो । भ्रमणका लागि तयार पारिएका विषयमा आवश्यक थपघट र पुनरवलोकनको कामसमेत जारी रहेको मन्त्रालयले जनाएको छ ।
परराष्ट्रमन्त्री शिशिर खनाल र परराष्ट्र सचिव अमृतबहादुर राईले भ्रमणको तयारी तथा भारत सरकारसँगको समन्वयलाई निरन्तरता दिइरहेका छन् । एजेन्डा निर्माणमा सम्बन्धित मन्त्रालयबीच समन्वय र सहकार्यलाई प्राथमिकता दिन निर्देशन दिइएको छ ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले भ्रमणलाई फलदायी बनाउन दस्ताबेज र एजेन्डालाई अन्तिम रूप दिने काम भइरहेको बताए। उनका अनुसार लगातार तीन दिनदेखि एजेन्डाको परिमार्जन र पुनरवलोकन भइरहेको छ ।
प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार भ्रमणको एजेन्डामात्र नभई समग्र भ्रमणको उद्देश्य र सारलाई प्रभावकारी बनाउने गरी विभिन्न मन्त्रालयसँग समन्वय भइरहेको छ ।
भ्रमणका क्रममा ‘सहकार्य’, ‘साझेदारी’, ‘आपसी समन्वय’ तथा ‘दुई देशको हित’ लगायतका विषयलाई कसरी सन्तुलित र प्रभावकारी ढंगले प्रस्तुत गर्ने भन्नेमा समेत गृहकार्य भइरहेको छ । नेपाली र अंग्रेजी भाषामा तयार हुने दस्ताबेजको भाव र आशय समान बनाउने विषयमा पनि प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालयबीच छलफल भइरहेको जनाइएको छ ।
यसैबीच प्रधानमन्त्रीको भ्रमणलाई व्यवस्थित बनाउन शिष्टाचार, सुरक्षा तथा अन्य प्राविधिक तयारी पनि अघि बढाइएको छ। शिष्टाचार महाशाखाले भ्रमणको प्रोटोकल र समन्वयको काम गरिरहेको छ भने सुरक्षा निकायले भारतीय पक्षसँग आवश्यक सुरक्षा समन्वय गरिरहेको छ ।
नेपालस्थित भारतीय राजदूतावास र भारतस्थित नेपाली दूतावासले पनि भ्रमणसँग सम्बन्धित समन्वय तथा प्रतिनिधिमण्डलको विवरण अद्यावधिक गर्ने काम गरिरहेका छन् ।
भ्रमणका क्रममा दुई देशबीच सम्भावित समझदारी तथा सम्झौताका दस्ताबेजलाई अन्तिम रूप दिने आन्तरिक तयारीसमेत भइरहेको छ । यसले प्रधानमन्त्री शाहको भारत भ्रमणलाई राजनीतिक भेटघाटमा सीमित नराखी ठोस सहकार्य र परिणाममुखी समझदारीतर्फ लैजाने सरकारको प्रयास देखाएको छ ।