मधेशमा नयाँ सत्ता समीकरणको कसरत, मुख्यमन्त्रीका लागि आज दाबी पेस हुँदै – Nepalboli

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, मुख्यमन्त्रीका लागि आज दाबी पेस हुँदै

   २०८३ मंसिर ५, शुक्रबार  

जनकपुरधाम—मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि आज राजनीतिक दलहरूले प्रदेश प्रमुखसमक्ष दाबी पेस गर्ने भएका छन् । नयाँ मुख्यमन्त्री चयनका लागि प्रदेश प्रमुखले दिएको समयसीमा आज दिउँसो ४ बजे सकिँदैछ।

प्रदेश प्रमुख डा.सुरेन्द्रलाभ कर्णले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा प्रदेशसभामा बहुमत जुटाउन सक्ने सदस्यलाई मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गरेका छन् ।

यससँगै मधेशमा नयाँ सत्ता समीकरण निर्माणको कसरत निर्णायक चरणमा पुगेको छ । दलहरूबीच मुख्यमन्त्रीको नेतृत्व र सरकारमा सहभागी हुने दलहरूको विषयमा छलफल चलिरहे पनि अहिलेसम्म स्पष्ट समीकरण सार्वजनिक भएको छैन ।

यसअघि गत कात्तिक २८ गते तत्कालीन मुख्यमन्त्री नेपाली कांग्रेसका कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि सदनमै राजीनामाको घोषणा गरेका थिए । सत्ता सहकार्यमा रहेका नेकपा एमाले र नेकपाले क्रमशः सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि यादव नेतृत्वको सरकार अल्पमतमा परेको थियो ।

सरकार गठनका लागि दाबी पेस गर्ने समयसीमा नजिकिँदै गर्दा दलहरूबीच आफ्नो पक्षमा बहुमत जुटाउने प्रयास तीव्र बनेको छ । प्रदेशसभामा कुन दलको नेतृत्वमा सरकार बन्ने र सत्ता समीकरणमा कुन–कुन दल सहभागी हुने भन्ने विषयले मधेशको आगामी राजनीतिक दिशा तय गर्नेछ ।

प्रदेश प्रमुखसमक्ष दाबी पेस भएपछि समर्थनमा रहेका दल तथा प्रदेशसभा सदस्यको संख्या यकिन हुनेछ र त्यसैका आधारमा नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया अघि बढ्नेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै