राइजिङ स्टार्स कपमा आज भारत ‘ए’ को सामना गर्दै नेपाल
काठमाडौं — एसिया राइजिङ स्टार्स कपको समूह चरणमा नेपालले आज बलियो प्रतिद्वन्द्वी भारत ‘ए’ को सामना गर्दैछ । कतारको दोहामा हुने खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।
भारत ‘ए’ विरुद्धको खेल नेपालका लागि प्रतियोगितामा आफ्नो क्षमता परीक्षण गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ । भारतीय टोलीमा कप्तान तिलक वर्मासँगै अभिषेक शर्मा, वैभव सूर्यवंशी र रिंकु सिंहजस्ता चर्चित खेलाडी छन् ।
५० ओभरको ढाँचामा खेलाइने प्रतियोगितामा नेपालसहित आठ टोली सहभागी छन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल, भारत ‘ए’, पाकिस्तान शाहिन्स, यूएई, श्रीलंका ‘ए’, बंगलादेश ‘ए’, अफगानिस्तान ‘ए’ र हङकङले प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेका छन् ।
समूह चरणमा प्रत्येक टोलीले आफ्नो समूहका अन्य टोलीसँग एक–एक खेल खेल्नेछन् । दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनलका खेल नोभेम्बर २६ र २७ तथा फाइनल नोभेम्बर २९ मा हुनेछ ।
एसिया क्रिकेट काउन्सिल (एसीसी)को आयोजनामा नोभेम्बर १९ देखि २९ सम्म सञ्चालन हुने प्रतियोगितामा नेपालले एसिया मेन्स एलिट कपमा गरेको प्रदर्शनका आधारमा स्थान बनाएको हो ।
युवा तथा उदीयमान खेलाडीलाई उच्चस्तरीय अन्तर्राष्ट्रिय अनुभव दिलाउने यो प्रतियोगिता नेपालका लागि एसियाली क्रिकेटमा आफ्नो क्षमता प्रदर्शन गर्ने महत्वपूर्ण मञ्चसमेत हो ।