भीमफेदीमा सुमो राप्ती खोलामा खस्यो, दुई जनाको मृत्युः सात घाइते
हेटौँडा— मकवानपुरको भीमफेदीमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।
बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौं जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो त्रिभुवन राजपथबाट राप्ती खोलामा खसेर दुर्घटनामा परेको हो ।
प्रारम्भिक विवरणअनुसार सुमोमा चालकसहित १० जना सवार थिए । दुर्घटनामा दुई जनाको मृत्यु भएको र सात जना घाइते भएको बताइएको छ ।
दुर्घटनापछि उद्धार गरिएका घाइते तथा मृतकलाई उपचार तथा आवश्यक प्रक्रियाका लागि हेटौँडा अस्पताल ल्याइएको छ ।
दुर्घटनाको विस्तृत विवरण तथा मृतक र घाइतेको पहिचान खुल्न बाँकी छ ।