तराईदेखि उपत्यकासम्म हुस्सु–कुहिरो, ‘अकवान’को प्रभावमा मौसम – Nepalboli

तराईदेखि उपत्यकासम्म हुस्सु–कुहिरो, ‘अकवान’को प्रभावमा मौसम

   २०८३ मंसिर ४, बिहीबार  

काठमाडौं— पश्चिमी वायु र बंगालको खाडीमा विकसित ‘अकवान’ चक्रवातको आंशिक प्रभावका कारण देशका केही क्षेत्रमा मौसममा सामान्य बदली देखिएको छ । विशेषगरी तराई, काठमाडौं उपत्यका र खोँचका अधिकांश स्थानमा बिहानैदेखि हुस्सु तथा तुवाँलो लागेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशीसहित गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा आंशिक बदली रहेको छ । अन्य क्षेत्रमा भने मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो कोशी र मधेश प्रदेश तथा बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान छ । देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

रातिको समयमा कोशी र मधेश प्रदेशमा आंशिक बदलीको सम्भावना रहे पनि अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ ।

तराईका भूभाग, उपत्यका तथा खोँचमा बिहानको समयमा हुस्सु र कुहिरो लाग्न सक्ने भएकाले महाशाखाले सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । हुस्सु–कुहिरोका कारण विशेषगरी बिहानको समयमा सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले यात्रामा सावधानी अपनाउनुपर्ने देखिएको छ ।

यसैबीच, बंगालको खाडीमा विकसित ‘अकवान’ चक्रवातको प्रभाव तत्काल नेपालमा ठूलो र निरन्तर वर्षाका रूपमा देखिने सम्भावना नरहेको मौसमविद्हरूले बताएका छन् ।

यद्यपि चक्रवातको गति र दिशा परिवर्तन हुन सक्ने भएकाले मौसम प्रणालीको निरन्तर निगरानी भइरहेको महाशाखाले जनाएको छ । आगामी अवस्थाबारे थप विश्लेषणपछि आवश्यक मौसम सूचना सार्वजनिक गरिनेछ ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै