बालेनको भारत भ्रमण: कनेक्टिभिटीदेखि ऊर्जा परियोजनासम्म सहमतिको तयारी
काठमाडौँ— प्रधानमन्त्री वालेन्द्र शाहको आगामी भारत भ्रमणमा नेपाल–भारत सम्बन्धका परम्परागत विषयसँगै कनेक्टिभिटी, ऊर्जा, पूर्वाधार र विकास आयोजनालाई केन्द्रमा राखेर छलफल हुने भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाह यही मङ्सिर ६ गते भारतको दुईदिने औपचारिक भ्रमणमा जाने तयारीमा छन् ।
प्रधानमन्त्रीको भ्रमणलाई परिणाममुखी बनाउन परराष्ट्र मन्त्रालयले आन्तरिक तयारी तीव्र बनाएको छ । मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार भ्रमणका विषयमा विषयगत तयारी भइरहेको छ । भ्रमणसँग सम्बन्धित विस्तृत विवरण भने मन्त्रालयले छिट्टै सार्वजनिक गर्ने तयारी गरेको छ ।
भ्रमणका क्रममा हवाई तथा स्थल कनेक्टिभिटी विस्तार प्रमुख एजेन्डाका रूपमा अघि बढ्ने देखिएको छ । नेपालका लागि थप हवाई प्रवेश बिन्दु उपलब्ध गराउने विषयदेखि रेलवे तथा सडक सञ्जाल विस्तारसम्मका विषयमा भारतसँग छलफल हुने अपेक्षा गरिएको छ ।
रेलवे कनेक्टिभिटीतर्फ जनकपुर–अयोध्या रेल सेवाको शुभारम्भ, जयनगर–जनकपुर रेलसेवालाई बर्दिबाससम्म विस्तार, रक्सौल–काठमाडौँ रेलमार्गको सम्भावना तथा अन्य सीमापार रेलवे सम्पर्क विस्तारका विषयमा सहमति खोजिनेछ ।
त्यस्तै, सडक तथा पुल निर्माण, एकीकृत जाँच चौकी (आइसीपी) विस्तार तथा विद्युत् प्रसारण लाइन निर्माणका विषय पनि वार्ताको प्राथमिकतामा रहनेछन् । ऊर्जा पूर्वाधार विस्तारसँगै नेपालमा भारतीय सहयोगमा सञ्चालित विकास आयोजनालाई गति दिने विषयमा समेत छलफल हुने बताइएको छ ।
भारतीय सहयोगका आयोजनाको समीक्षा
प्रधानमन्त्री शाहको भ्रमणमा नेपालमा भारतीय सहयोगमा सञ्चालित आयोजनाहरूको अवस्थाबारे पनि समीक्षा हुने भएको छ । सम्पन्न भएका आयोजनाको उद्घाटन तथा हस्तान्तरण, निर्माणाधीन परियोजनालाई शीघ्र सम्पन्न गर्ने र आवश्यक परे नयाँ विकास आयोजना अघि बढाउने विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।
भारतीय सहयोगमा निर्माणाधीन परियोजनाको कामलाई गति दिने तथा सम्पन्न भइसकेका नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठानजस्ता आयोजनाको उद्घाटन र हस्तान्तरणको विषय पनि सम्भावित एजेन्डामा रहेको बुझिएको छ ।
विपद्पछिको पुनर्निर्माणमा भारतीय सहयोग बढाउने विषयले समेत भ्रमणका क्रममा स्थान पाउनेछ । विकास निर्माणका क्षेत्रमा थप सहयोग जुटाउने विषयमा पनि दुई देशबीच छलफल हुने बताइएको छ ।
पर्यटन र सीमापार भुक्तानी पनि छलफलमा
पूर्वाधार र विकाससँगै नेपाल–भारतबीचको जनस्तरको सम्बन्ध विस्तार तथा पर्यटन प्रवर्द्धनलाई पनि भ्रमणले प्राथमिकता दिनेछ । दुई देशबीच नागरिकस्तरको आवागमन र सम्बन्धलाई थप सहज बनाउने विषयमा छलफल हुनेछ ।
यसैगरी, सीमापार भुक्तानी प्रणालीलाई थप सहज र प्रभावकारी बनाउने विषय पनि भ्रमणका क्रममा उठ्ने सम्भावना छ । यसले दुई देशबीचको व्यापारिक तथा नागरिकस्तरको आर्थिक कारोबारलाई थप सहज बनाउने अपेक्षा गरिएको छ ।
भ्रमणअघि कूटनीतिक तयारी
प्रधानमन्त्री शाहको भारत भ्रमणको तयारीकै क्रममा भारतका विदेशसचिव विक्रम मिश्रीले गत कात्तिक १८ र १९ गते नेपालको औपचारिक भ्रमण गरेका थिए । उनले प्रधानमन्त्री शाहसहित केही मन्त्रीसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।
भ्रमणको पूर्वसन्ध्यामा नेपाल र भारतले रिक्त रहेका आ–आफ्ना राजदूतसमेत नियुक्त गरिसकेका छन् । नवनियुक्त राजदूतहरूले पनि आ–आफ्नो तहबाट भ्रमणको तयारी अघि बढाइरहेको सम्बन्धित दूतावासले जनाएका छन् ।
प्रधानमन्त्री शाहले गत चैत १३ गते जिम्मेवारी सम्हालेपछि गत असोज ६ गते संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन पहिलो विदेश भ्रमण गरेका थिए । भारत भ्रमण भने प्रधानमन्त्री बनेपछि उनको पहिलो छिमेकी मुलुकको औपचारिक भ्रमण हुनेछ ।
यस कारण पनि प्रधानमन्त्री शाहको भारत भ्रमणलाई नेपाल–भारत सम्बन्धमा नयाँ प्राथमिकता तय गर्ने तथा लामो समयदेखि छलफलमा रहेका कनेक्टिभिटी र विकास आयोजनालाई व्यवहारिक निष्कर्षमा पुर्याउने अवसरका रूपमा हेरिएको छ ।