मधेसमा जसपा नेतृत्वको सरकार बन्ने सम्भावना, एमाले–नेकपा निर्णायक
धनुषा— मधेस प्रदेशमा सरकार परिवर्तनको प्रक्रिया निर्णायक चरणमा प्रवेश गरेको छ । मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै नयाँ सरकार गठनका लागि दलहरूबीच सत्ता समीकरण मिलाउने कसरत तीव्र बनेको हो ।
प्रदेशसभामा सबैभन्दा ठूलो दल बनेको जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारको नेतृत्व गर्ने गरी नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को समर्थन जुटाउने प्रयास भइरहेको छ । तीन दलबीचको प्रारम्भिक संवाद सकारात्मक दिशामा अघि बढेको नेताहरूले बताएका छन् ।
नयाँ सरकार गठनका लागि प्रदेशसभामा बहुमत पुर्याउनुपर्ने भएकाले अहिलेको राजनीतिक केन्द्रबिन्दु जसपा नेपाल, एमाले र नेकपाबीचको समीकरण बनेको छ । जसपा नेपालका नेताहरूले आफ्नो दलको नेतृत्वमा सरकार बन्ने परिस्थिति तयार भएको दाबी गरेका छन् भने एमाले र नेकपाले औपचारिक निर्णयअघि थप छलफल आवश्यक रहेको बताएका छन् ।
प्रदेशसभाको १०३ सदस्यीय संरचनामा जसपा नेपालका २७, एमालेका २३ र नेकपाका १५ सांसद छन् । यी तीन दल मात्र एक ठाउँमा उभिए ६५ सांसद पुग्छन्, जुन सरकार गठनका लागि आवश्यक बहुमतभन्दा निकै बढी हो । यही अंकगणितले जसपा नेतृत्वको सम्भावित सरकारलाई बलियो बनाएको छ ।
यसअघि कांग्रेस नेतृत्वको सरकार अल्पमतमा परेपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिनुअघि नै कात्तिक २८ गते राजीनामा दिएका थिए । एमाले र नेकपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि बहुमत जुटाउन कठिन भएपछि उनले पद त्यागेका हुन् ।
मुख्यमन्त्रीको राजीनामापछि प्रदेश प्रमुख डा। सुरेन्द्रलाभ कर्णले संविधानअनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका छन् । दाबी पेस गर्ने समयसीमा मङ्सिर ४ गते अपराह्न ४ बजेसम्म तोकिएको छ ।
नेकपाका नेता भरतकुमार साहले जसपा नेपालको नेतृत्वमा नयाँ सरकार गठनको तयारी भइरहेको बताए । संसदीय दलको नेता नै मुख्यमन्त्री बन्ने परम्पराअनुसार जसपाबाट उम्मेदवार चयन हुने सम्भावना रहेको उनको भनाइ छ ।
तर, जसपा नेपालभित्र भने मुख्यमन्त्रीको उम्मेदवारबारे औपचारिक निर्णय भइसकेको छैन । पार्टीका नेता जीतेन्द्र सोनारले नेतृत्वका विषयमा छलफल जारी रहेको र सरकार गठन तथा मन्त्रालय बाँडफाँटबारे अहिले नै निष्कर्षमा पुगिनसकेको बताए ।
एमाले मधेस प्रदेशका संसदीय दलका नेता सरोजकुमार यादवले पनि नयाँ सरकार गठनबारे अनौपचारिक छलफल भइरहेको बताए । तीन दलबीच थप छलफलपछि मात्र औपचारिक निर्णय हुने उनको भनाइ छ ।
जसपा नेपालका नेता मनिषकुमार सुमनले भने प्रदेशसभामा आफ्नो दलको संख्या सबैभन्दा बढी रहेकाले सरकारको नेतृत्व उसैले गर्नुपर्ने अवस्था रहेको बताए ।
मधेस प्रदेशमा सरकार फेरबदलको श्रृङ्खला लामो समयदेखि चलिरहेको छ । प्रदेशसभाको दोस्रो कार्यकाल सुरु भएपछि जसपा नेपालका सरोजकुमार यादव, जनमत पार्टीका सतिशकुमार सिंह, तत्कालीन लोसपाका जीतेन्द्र सोनार, एमालेका सरोजकुमार यादव हुँदै कांग्रेसका कृष्णप्रसाद यादवले मुख्यमन्त्रीको जिम्मेवारी सम्हाले । तर, अधिकांश सरकार लामो समय टिक्न सकेनन् ।
कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै फेरि नयाँ सरकार गठनको अवस्था आएको हो । यसपटक भने प्रदेशसभाको अंकगणितले जसपा नेपाललाई एमाले र नेकपाको समर्थनमा सरकारको नेतृत्व गर्ने सहज आधार दिएको छ ।
१०३ सदस्यीय प्रदेशसभामा जसपा नेपालका २७, एमालेका २३, कांग्रेसका २२, नेकपाका १५ र जनमत पार्टीका १२ सांसद छन् । लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक सांसद छन् ।
यसकारण आगामी सरकार गठनमा कुन दलले नेतृत्व गर्नेभन्दा पनि जसपा–एमाले–नेकपा समीकरण औपचारिक रूपमा कसरी अघि बढ्छ भन्ने विषय निर्णायक बनेको छ । मङ्सिर ४ गतेको दाबी पेस गर्ने समयसीमासम्म सत्ता साझेदारी, मन्त्रालय बाँडफाँट र मुख्यमन्त्रीको उम्मेदवारबारे सहमति जुट्ने अपेक्षा गरिएको छ ।