दसैँमा यात्रुको सहजताका लागि सशस्त्र प्रहरीको निःशुल्क बस सेवा
काठमाडौं— दसैँमा सार्वजनिक यातायातका साधन घट्दा यात्रुले भोग्नुपर्ने आवागमनको समस्या कम गर्न सशस्त्र प्रहरी बलले काठमाडौं उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन गरेको छ ।
विजयादशमीको अवसरमा उपत्यकाभित्र सार्वजनिक सवारीसाधनको संख्या न्यून हुने भएकाले सर्वसाधारणलाई प्रमुख गन्तव्यसम्म सहज रूपमा पुग्ने व्यवस्था मिलाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरीका अनुसार विजयादशमीदेखि लगातार तीन दिनसम्म बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म दुई वटा बसमार्फत सेवा सञ्चालन हुनेछ । उपत्यकाका व्यस्त तथा प्रमुख आवागमन क्षेत्रलाई जोडेर बसका दुई रुट निर्धारण गरिएको छ ।
पहिलो रुट हलचोकस्थित सशस्त्र प्रहरी प्रधान कार्यालयबाट सुरु भई बालाजु, नयाँ बसपार्क, कोटेश्वर, सातदोबाटो र बल्खु हुँदै पुनः प्रधान कार्यालय पुग्नेछ ।
त्यस्तै, दोस्रो रुट प्रधान कार्यालयबाट सितापाइला, कलङ्की, बल्खु, कोटेश्वर र नयाँ बसपार्क हुँदै पुनः प्रधान कार्यालय फर्किनेछ ।
दसैँका बेला निजी तथा सार्वजनिक सवारीसाधनको चाप, सीमित सार्वजनिक यातायात र यात्रुको बढ्दो आवतजावतका कारण हुने असहजतालाई ध्यानमा राखेर निःशुल्क बस सेवा सञ्चालन गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरी बलले दसैँमा सर्वसाधारणको यात्रा सहज बनाउने उद्देश्यले हरेक वर्ष यस्तो निःशुल्क बस सेवा सञ्चालन गर्दै आएको जनाएको छ ।