मिथिला र धनुषाधामका ३१ जनाले जसपा नेपालबाट दिए सामूहिक राजीनामा
जनकपुरधाम— जनता समाजवादी पार्टी (जसपा) नेपाललाई धनुषामा धक्का लागेको छ । मिथिला नगरपालिका र धनुषाधाम नगरपालिकाका गरी ३१ जना नेता–कार्यकर्ताले पार्टीबाट सामूहिक राजीनामा दिएका छन् ।
मिथिला नगरपालिकाका नगरप्रमुखसहित नगर समितिका पदाधिकारी तथा सदस्यहरू र धनुषाधाम नगरपालिकाका स्थानीय नेता–कार्यकर्ताले मंगलबार पार्टी अध्यक्षलाई सम्बोधन गर्दै राजीनामा पत्र बुझाएका हुन् ।
राजीनामा पत्रमा आफूहरू लामो समयदेखि जसपा नेपालमा आबद्ध रही पार्टीको नीति, उद्देश्य तथा संगठनात्मक गतिविधिमा आफ्नो क्षमताअनुसार योगदान गर्दै आएको उल्लेख गरिएको छ । तर व्यक्तिगत कारण देखाउँदै अब पार्टीको कुनै पनि पद तथा साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको जनाइएको छ।
राजीनामा दिनेमा मिथिला नगरपालिकाका नगरप्रमुख रामनाथ महतो, उपप्रमुख सरस्वती देवी, नगर सचिव आनन्द कुमार महतो, नगर कोषाध्यक्ष साजन महतो लगायत नगर समितिका सदस्यहरू छन् । सूचीमा पूर्व केन्द्रीय सदस्य मनुमाया मोक्तानसहित विभिन्न पदमा रहेका नेता–कार्यकर्ता पनि छन् ।
त्यस्तै, धनुषाधाम नगरपालिकातर्फ वडा कमिटी अध्यक्ष पवन यादव लगायतका ९ जनाले पनि पार्टी सदस्यता त्यागेको पत्रमा उल्लेख छ ।
राजीनामा पत्रमा पार्टीमा रहँदा प्राप्त सहयोग, सहकार्य र अवसरका लागि सम्पूर्ण पार्टी नेतृत्व तथा साथीहरूलाई धन्यवाद दिँदै राजीनामा स्वीकृत गरिदिन अनुरोध गरिएको छ ।
एकैपटक ३१ जनाको सामूहिक राजीनामाले जसपा नेपालभित्रको स्थानीय संगठनमा राजनीतिक तरंग पैदा भएको छ ।