दसैंमा नारायणगढ–काठमाडौं सडकमा ठूला मालवाहक सवारीलाई रोक – Nepalboli

दसैंमा नारायणगढ–काठमाडौं सडकमा ठूला मालवाहक सवारीलाई रोक

   २०८३ आश्विन २०, मंगलवार  

काठमाडौं— दसैंको समयमा नारायणगढ–काठमाडौं सडकखण्डमा हुने यात्रुवाहक सवारीको चाप व्यवस्थापन गर्न ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको छ ।

यातायात व्यवस्था विभागमा आज बसेको सरोकारवालाको बैठकले घटस्थापनादेखि पूर्णिमासम्म ट्रेलरलगायत ठूला मालवाहक सवारीलाई उक्त सडकखण्डमा सञ्चालन गर्न नदिने निर्णय गरेको हो ।

निर्णयअनुसार २५ असोजदेखि ८ कात्तिकसम्म नारायणगढ–काठमाडौं सडकखण्डमा ठूला मालवाहक सवारीसाधन चलाउन पाइने छैन । दसैंका बेला यात्रुवाहक सवारीको चाप अत्यधिक बढ्ने भएकाले सडकमा सहज आवागमन कायम गर्न यस्तो व्यवस्था गरिएको हो ।

तर, खाद्य सामग्री, औषधि, फलफूल तथा अन्य अत्यावश्यक सामग्री बोकेका सवारीसाधन भने सञ्चालनमा रोक नलाग्ने जनाइएको छ ।

दसैंमा देशका विभिन्न स्थानबाट काठमाडौं आउने तथा राजधानीबाट घर फर्किने यात्रुको संख्या बढ्ने भएकाले सडक व्यवस्थापनलाई प्राथमिकतामा राख्दै ठूला मालवाहक सवारीको आवागमन अस्थायी रूपमा नियन्त्रण गर्न लागिएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै