कमला पुल मङ्सिरदेखि सञ्चालनमा ल्याउने तयारी, निर्माणले पायो तीव्रता
जनकपुरधाम— धनुषा र सिरहा जोड्ने कमला नदीमाथिको पुल पुनःनिर्माणको काम अन्तिम चरणमा पुगेको छ । लामो समयदेखि अलपत्र रहेको पुललाई आगामी मङ्सिरदेखि सञ्चालनमा ल्याउने गरी निर्माण कार्य तीव्र पारिएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरधामले जनाएको छ ।
कार्यालय प्रमुख कृष्णकुमार महतोका अनुसार पुलको १० नम्बर पिलर निर्माण सम्पन्न भइसकेको छ भने अहिले सुपर ढलानको काम भइरहेको छ । फाउण्डेसनसहित तीनवटा पिलरको सबलीकरण र ढलानको काम पनि अन्तिम चरणमा पुगेको उनले बताए ।
२०७८ असारमा उद्घाटनको तयारी भइरहेका बेला आएको बाढीले पुलको पिलर भाँचिएपछि संरचना जीर्ण बनेको थियो । त्यसपछि पुनःनिर्माणमा ढिलाइ हुँदा स्थानीयवासीलाई कमला नदी पार गर्न लामो समयसम्म डुङ्गामा निर्भर हुनुपरेको थियो ।
पुल पुनःनिर्माणका क्रममा देखिएका समस्या पहिचान गरी आवश्यक सहजीकरण गरेपछि कामले गति लिएको प्रमुख महतोले बताए । उनका अनुसार पुलको दुवैतर्फ पहुँच सडकमा माटो भर्ने काम सम्पन्न भइसकेकाले मङ्सिरदेखि पुल सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।
कमला पुल निर्माणको ठेक्का २०६८ सालमा पप्पु–लुम्बिनी जेभीले पाएको थियो। अहिले पनि सोही निर्माण कम्पनीले पुल पुनःनिर्माणको काम गरिरहेको छ ।
हुलाकी सडकको ३४७ किलोमिटरभन्दा बढी कालोपत्र
कमला पुलसँगै पूर्व–पश्चिम हुलाकी राजमार्गअन्तर्गत सिरहादेखि सर्लाहीसम्मको सडक निर्माणले पनि गति लिएको छ । कुल ४०६ दशमलव ४३ किलोमिटर सडकखण्डमध्ये हालसम्म ३४७ दशमलव ६३ किलोमिटर सडक कालोपत्र भइसकेको छ । यही खण्डमा पर्ने २४ वटा पुलको निर्माणसमेत सम्पन्न भएको छ ।
हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरधामका सूचना अधिकारी रञ्जितकुमार रायका अनुसार सिरहाको ५७ दशमलव ५२ किलोमिटरमध्ये २९ दशमलव ९८ किलोमिटर सडक निर्माण सम्पन्न भएको छ भने २७ दशमलव ४६ किलोमिटर निर्माणाधीन छ ।
धनुषामा ८९ दशमलव ५२ किलोमिटरमध्ये ७४ दशमलव ५८ किलोमिटर सडक निर्माण सम्पन्न भएको छ । १४ दशमलव ९४ किलोमिटर सडक भने निर्माणाधीन अवस्थामा छ ।
त्यस्तै महोत्तरीमा ९३ दशमलव ५ किलोमिटरमध्ये ९१ दशमलव ५६ किलोमिटर सडक निर्माण सम्पन्न भएको छ भने एक दशमलव ९४ किलोमिटर बाँकी छ ।
सर्लाहीतर्फ कुल १६६ दशमलव २ किलोमिटर सडकखण्डमध्ये १५१ दशमलव ५१ किलोमिटर निर्माण सम्पन्न भएको र १४ दशमलव ५१ किलोमिटर निर्माणाधीन रहेको सूचना अधिकारी रायले जानकारी दिए ।
२०८२/८३ भित्रै काम सक्ने लक्ष्य
हुलाकी सडक निर्माण आर्थिक वर्ष २०८२/८३ भित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको छ । तर राजमार्गको सीमाभित्र रहेका घरटहरा हटाउन ढिलाइ तथा विभिन्न स्थानमा देखिएका जग्गासम्बन्धी विवादका कारण केही काम प्रभावित भएको कार्यालय प्रमुख महतोले बताए । बाँकी निर्माण कार्यलाई निर्धारित समयभित्रै सम्पन्न गर्न निरन्तर प्रयास भइरहेको उनको भनाइ छ ।
मधेस प्रदेशका आठवटै जिल्लामा हुलाकी राजमार्गअन्तर्गत सडक तथा पुल निर्माण अघि बढेसँगै ग्रामीण क्षेत्रको सडक पहुँच विस्तार हुँदै गएको छ । सडक पूर्वाधार विस्तारले स्थानीय आवागमन सहज बनाउनुका साथै व्यापार, कृषि तथा अन्य आर्थिक गतिविधिमा समेत प्रभाव पार्ने अपेक्षा गरिएको छ ।