सूचना चुहावटप्रति गृहमन्त्रीको कडा चेतावनी, ‘राज्यको गोपनीयता दुरुपयोग गर्नेलाई उन्मुक्ति हुँदैन’ – Nepalboli

सूचना चुहावटप्रति गृहमन्त्रीको कडा चेतावनी, ‘राज्यको गोपनीयता दुरुपयोग गर्नेलाई उन्मुक्ति हुँदैन’

   २०८३ आश्विन २०, मंगलवार  

काठमाडौं— गृहमन्त्री सुधन गुरुङले राज्यका गोप्य तथा संवेदनशील सूचना अनधिकृत रूपमा बाहिर पुर्‍याउने जोसुकैलाई कानुनी कारबाहीको दायरामा ल्याउने चेतावनी दिएका छन् ।

सुरक्षा निकायभित्रैबाट संवेदनशील सूचना चुहावट भएको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआइजी) वंशीराज दाहाल निलम्बनमा परेका बेला गृहमन्त्री गुरुङको यस्तो अभिव्यक्ति आएको हो ।

गृहमन्त्री गुरुङले सामाजिक सञ्जालमार्फत पद र जिम्मेवारीको दुरुपयोग गर्दै गोप्य सूचना अनधिकृत व्यक्ति वा निकायलाई उपलब्ध गराउने प्रवृत्तिमाथि आफूले लामो समयदेखि निगरानी गरिरहेको बताएका छन् ।

उनले गृह मन्त्रालय तथा मातहतका निकायमा जिम्मेवारीमा रहेका पदाधिकारी र कर्मचारीले आफ्नो पदीय हैसियत बिर्सिएर संवेदनशील सूचना चुहाउने कार्य स्वीकार्य नहुने स्पष्ट पारेका छन् ।

‘राज्यको संवेदनशील सूचना कसैको निजी सम्पत्ति होइन, सार्वजनिक जिम्मेवारी हो,’ उनले भनेका छन्, ‘पदले सूचनामा पहुँच दिन्छ, तर त्यसको दुरुपयोग गर्ने अधिकार दिँदैन ।’

गृहमन्त्रीका अनुसार सुरक्षा संयन्त्रबाट प्राप्त हुने सानोभन्दा सानो सूचना, सुराक वा गुप्त जानकारीसमेत अपराध नियन्त्रण, अनुसन्धान अघि बढाउन तथा भविष्यमा हुन सक्ने गम्भीर घटनाको सत्यतथ्य स्थापित गर्न निर्णायक बन्न सक्छ ।

त्यसैले राज्यले सुम्पिएको गोपनीयताको जानाजान उल्लंघन गरी देश र संगठनमाथि विश्वासघात गर्ने कसैलाई पनि उन्मुक्ति नदिइने उनको भनाइ छ ।

यसैबीच, सुरक्षासम्बन्धी गम्भीर सूचना चुहाएको आरोपमा सशस्त्र प्रहरी बलका एआइजी वंशीराज दाहाललाई गृह मन्त्रालयले सोमबार निलम्बन गरी जाँचबुझ प्रक्रिया अघि बढाएको छ ।

स्रोतका अनुसार दाहालले प्रधानमन्त्रीका गतिविधिलगायत संवेदनशील सूचना बिचौलिया इनाम सापकोटामार्फत पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई दिएको आरोप छ ।

एआइजी दाहाल निलम्बनमा परेसँगै गृहमन्त्री गुरुङले राज्यको गोपनीयता र सुरक्षा सूचनाको दुरुपयोगप्रति सार्वजनिक रूपमा कडा चेतावनी दिएका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै