भारतको स्वर्णमा पाकिस्तानमाथि १९ रनको जित
जापान— भारतले पाकिस्तानलाई १९ रनले पराजित गर्दै आइची–नागोया एसियाली खेलकुदमा पुरुष क्रिकेटतर्फ लगातार दोस्रो स्वर्णपदक जितेको छ ।
शनिबार भएको फाइनलमा भारतले दिएको २१२ रनको लक्ष्य पछ्याएको पाकिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९२ रनमा सीमित भयो ।
यसअघि टस जितेर ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेटको क्षतिमा २११ रन बनाएको थियो । भारतको जितमा अभिषेक शर्माले आक्रामक ब्याटिङ गर्दै २८ बलमा ६१ रन बनाए। तिलक वर्माले २२ बलमा अविजित ५१ रन जोडे ।
भारतले पाकिस्तानविरुद्ध टी–२० क्रिकेटमा आफ्नो सर्वाधिक स्कोरसमेत बनाएको छ । यसअघि पाकिस्तानविरुद्ध भारतको उच्चतम स्कोर १९२–५ थियो, जुन सन् २०१२ मा अहमदाबादमा बनेको थियो ।
लक्ष्य पछ्याउने क्रममा पाकिस्तानका हसन नवाजले ९६ रनको उत्कृष्ट इनिङ खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । साइम अय्युबले २९ रन बनाए। भारतका वासिङ्टन सुन्दर, अक्षर पटेल र शिवम दुबेले समान दुई विकेट लिए ।
फाइनलमा पराजित पाकिस्तानले रजत पदकमा चित्त बुझाउँदा श्रीलंकाले कास्य पदक जितेको छ । कास्यका लागि भएको खेलमा श्रीलंकाले बंगलादेशलाई ६३ रनले पराजित गरेको हो ।
यस प्रतियोगितामा नेपालको यात्रा भने क्वार्टरफाइनलमै टुंगिएको थियो । वर्षाका कारण नेपाल र श्रीलंकाबीचको क्वार्टरफाइनल खेल हुन नसकेपछि वरीयताका आधारमा श्रीलंका विजयी घोषित भएको थियो।