भारी वर्षाको जोखिम बढेपछि कान्ति राजमार्गसहित दुई सडकमा राति सवारी बन्द – Nepalboli

भारी वर्षाको जोखिम बढेपछि कान्ति राजमार्गसहित दुई सडकमा राति सवारी बन्द

   २०८३ आश्विन ७, बुधबार  

मकवानपुर— भारीदेखि धेरै भारी वर्षाको पूर्वानुमानसँगै बाढी र पहिरोको जोखिम बढेपछि मकवानपुर प्रशासनले काठमाडौँ जोड्ने दुई प्रमुख सडकमा रातिको सवारी आवागमन रोक्ने निर्णय गरेको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले कान्ति राजमार्ग र भैँसे–भीमफेदी–देउराली–कुलेखानी सडकखण्डमा बेलुका ७ बजेदेखि बिहानसम्म सवारी सञ्चालनमा रोक लगाएको हो ।

जल तथा मौसम विज्ञान विभागको विशेष मौसमी बुलेटिनअनुसार असोज ९ देखि ११ गतेसम्म हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले सडक सुरक्षालाई ध्यानमा राखेर सवारीको समय निर्धारण गरिएको प्रशासनले जनाएको छ ।

प्रशासकीय अधिकृत सन्तोष सुवेदीका अनुसार असोज ९ गतेदेखि अर्को सूचना जारी नभएसम्म कान्ति राजमार्गमा बिहान ५ बजेदेखि बेलुका ५ बजेसम्म मात्र चौघडाबाट काठमाडौँतर्फ सवारी प्रस्थान गर्न दिइनेछ ।

त्यसैगरी, भैँसे–भीमफेदी–देउराली–कुलेखानी सडकखण्डमा बिहान ५ बजेदेखि बेलुका ५ बजेसम्म हेटौँडाको चौकीटोलबाट काठमाडौँतर्फ तथा फाखेलको हुमाने र सिस्नेरीको रामचन्द्रभञ्ज्याङबाट हेटौँडातर्फ सवारी सञ्चालन गर्न दिइनेछ ।

प्रशासनका अनुसार तोकिएको समयपछि अर्थात् बेलुका ७ बजेदेखि रातिको समयमा दुवै सडकमा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिनेछ ।

भारी वर्षाका क्रममा सडकमा अचानक बाढी आउनु, पहिरो खस्नु तथा सडक अवरुद्ध हुने जोखिम रहेकाले प्रशासनले यात्रुलाई तोकिएको समयभित्रै यात्रा सम्पन्न गर्न आग्रह गरेको छ । अत्यावश्यकबाहेक जोखिमयुक्त समयमा यात्रा नगर्नसमेत प्रशासनले अनुरोध गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै