पूर्वप्रधानमन्त्री केपी ओली पक्राउ, एमालेद्धारा पक्राउको विरुद्धमा प्रर्दशन
नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उहाँको निवासबाटै पक्राउ पर्नुभएको छ । सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित भाडाको घरमा बस्दै आउनुभएका ओलीलाई शनिबार बिहानै प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एवम् प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिनुभयो ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक खड्काको कमाण्डमा खटिएको टोली आज बिहान ५ बजे गुण्डु पुगेका थियो । ओलीलाई पक्राउ गरी काठमाडौँ स्थित टिचिंग अस्पतालमा राखिएको छ ।
ओली नेतृत्वको तत्कालीन सरकारका गृहमन्त्री रमेश लेखकलाई पनि आज बिहान प्रहरीले भक्तपुरको कुटुन्जेस्थित निवासबाट पक्राउ गरिसकेको छ।
गत भदौ २३ गते भएको जेनजी आन्दोलनमा १९ जनाको ज्यान जाने घटनामा संलग्न भएको आरोपको अनुसन्धानका लागि भन्दै प्रहरीले ओली र लेखकलाई पक्राउ गरेको हो । जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित आयोगले ओलीलाई फौजदारी मुद्दामा अनुसन्धान गर्न सरकारलाई सिफारिस गरेको थियो । गौरीबहादुर कार्की नेतृत्वको आयोगले चैत २४ मा बुझाएको प्रतिवेदनको आधारमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वप्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री लेखकलाई फौजदारी मुद्दामा कारबाही गर्ने सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।
भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनमा काठमाडौँको बानेश्वरमा किशोरहरूमाथि गोली प्रहार गरेको घटनामा आयोगले उहाँहरूलाई जिम्मेवार भनेको छ ।
रिहाइ माग गर्दै एमाले सडकमा
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरोधमा एमालेका भ्रातृ सङ्गठन र समर्थक सडकमा उत्रिएका छन् । काठमाडौँका विभिन्न स्थानमा प्रदर्शन गरेका हुन् । शनिबार काठमाडौँ माइतीघर, प्रदर्शनीमार्ग, बबरमहल र अनामनगरमा प्रदर्शन भएको हो । केपी शर्मा ओली पक्राउको विरोधमा उत्रिएका सात प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले सिंहदरबारस्थित निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि उनीहरूलाई पक्राउ गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार बबरमहलमा केही प्रदर्शनकारीहरुले टायर बालेर प्रदर्शन गरेका थिए। सोही क्रममा प्रहरीसँग घम्साघम्सी भएको थियो । प्रहरीको लाठी लागेर केही प्रदर्शनकारी घाइतेसमेत भएका छन् ।
त्यस क्रममा प्रदर्शनकारी उत्तेजित बन्न थालेपछि एक सेल अश्रुग्यास प्रहार गरी स्थिति नियन्त्रणमा लिइएको भट्टराईले बताउनुभयो । काठमाडौँको माइतीघर, बबरमहल र सिंहदरबार दक्षिणगेट अगाडि एमालेका कार्यकर्ताले प्रदर्शन गरेका थिए ।
सिंहदरबारमा उच्चस्तरीय सुरक्षा छलफल
पछिल्लो देशको सुरक्षा तथा समसामयिक परिस्थितिबारे छलफल गर्न गृहमन्त्री सुधन गुरुङले शनिबार साँझ दुवै प्रहरीका महानिरीक्षकलाई सिंहदरबार बोलाएका छन्। गृहमन्त्रीको बोलाहटपछि नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल सिंहदरबार पुगेका छन्।
उनीहरूसँगै नेपाल प्रहरी कार्य विभागका एआईजी उमाप्रसाद चतुर्वेदी, उपत्यका प्रहरी प्रमुख एआईजी ईश्वर कार्की तथा सशस्त्र प्रहरी बलका कार्य विभाग प्रमुख गणेश ठाडा मगर पनि सिंहदरबार पुगेका छन्।
सिंहदरवार विशेष स्रोतका अनुसार दुवै महानिरीक्षकसहित उच्च अधिकारीहरू गृहमन्त्री गुरुङको कार्यकक्षमा आन्तरिक छलफलमा रहेका छन्। छलफलमा पछिल्लो सुरक्षा अवस्था, संवेदनशील घटनाक्रम तथा सुरक्षा व्यवस्थापनका विषयमा केन्द्रित रहेर विचार विमर्श भइरहेको छ।
यसअघि शुक्रबार पनि गृहमन्त्री गुरुङले दुवै महानिरीक्षकलाई गृह मन्त्रालय बोलाएका थिए। सो छलफलपछि पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न निर्देशन दिइएको थियो।
