०४६ पछिका सबै प्रकरणको छानबिन हुन्छ- लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कुनै प्रतिशोध नराखी ०४६ सालपछिका सबै प्रकरणको छानबिन हुने बताएका छन् । मंगलबार (फागुन १२) इटहरीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले भ्रष्टाचारप्रति रास्वपा निर्मम भएर अघि बढ्ने बताए । उनले विधिको शासन स्थापित गर्दै मुलुकमा सुशासन कायम गरिने बताउँदै समयमा काम नगर्ने निर्माण व्यवसायीलाई डोरीले नभई नीतिले बाँध्ने कुरा रास्वपाले गरेको बताए । साथै, राम्रा काम गर्ने निर्माण व्यवसायीलाई देशको नीतिले रक्षा गर्ने वातावरण बनाउने पनि उनको भनाइ थियो ।
सहकारी विषयमा आफूलाई आरोपमाथि आरोप लगाए पनि रास्वपा नेतृत्वको सरकार बनेपछि सय दिनभित्र बचतकर्ताको पैसा फिर्ता गर्न सुरु गर्ने बताए । लामिछानेले देशमा परिवर्तनका लागि योगदान दिन आह्वानसमेत गरे ।
यस्तै, रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले नयाँ उद्योग कलकारखाना स्थापनाका लागि नेतालाई ढोग्ने परम्परा र चन्दा दिनुपर्ने अवस्थालाई रास्वपाले अन्त्य गर्ने बताए । उनले कोसीमा औद्योगिक वातावरण बने पनि अघि बढ्न नसकेको उल्लेख गर्दै समग्र पूर्वी क्षेत्रको विकास गर्न रास्वपा तयार रहेको धारणा राखे ।
देशलाई जोगाउने पार्टी बनेर रास्वपाले जनताको मत जित्ने शाहको भनाइ थियो ।