रास्वपामा पहिरो- मकवानपुर जिल्ला सभापति पराजुली कांग्रेस प्रवेश
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरको पार्टीका जिल्ला सभापति भरत पराजुली नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। पराजुलीलाई सोमबार बिहान नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीमा स्वागत गरे। पराजुलीसँगै मकवानपुर क्षेत्र नं २ का निर्वाचन परिचालन समिति संयोजक समेत कांग्रेस प्रवेश गरेका छन्। गत प्रतिनिधि सभा निर्वाचनमा मकवानपुर २ बाट १२ हजार ५९ मत प्राप्त गरेका पराजुलीको बहिर्गमनलाई रास्वपाको स्थानीय संगठनमा पहिरो गएको रूपमा हेरिएको छ।
रास्वपा परित्याग गरी कांग्रेस प्रवेश गर्ने यो लहर मकवानपुरमा मात्र सीमित छैन। हिजो मात्रै नुवाकोटमा रास्वपाका प्रभावशाली नेता तथा गत निर्वाचनमा १६ हजारभन्दा बढी मत ल्याएका सुमन पाण्डे सहित ठूलो संख्यामा नेता-कार्यकर्ताहरू कांग्रेसमा समाहित भएका छन् । पाण्डे र पराजुली जस्ता स्थापित र जनमत भएका नेताहरूले नै पार्टी छाडेपछि रास्वपाको नयाँ शक्तिु को नारामाथि गम्भीर नैतिक प्रश्न उठेको छ।
पराजुलीले आफ्नो भिडियो सन्देशमा रास्वपा अहिले एउटा लिमिटेड कम्पनी वा सीमित व्यक्तिको क्लब जस्तो भएको र त्यहाँ आलोचना गर्नेहरूलाई पाखा लगाउने चाकरीवादु हाबी भएको बताएका छन्। उनले भने, हामीले आदर्शका लागि पार्टी बनायौँ, तर त्यहाँ व्यक्तिगत स्वार्थ र आर्थिक प्रभावले ठाउँ पायो।
चुनाव नजिकिँदै जाँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट नेता–कार्यकर्ता बाहिरिने क्रम बाक्लै बनेको छ । गएको माघ २९ गते रास्वपाका नेता डा। प्रणयशमशेर राणाले पार्टी परित्याग गरेपछि सुरु भएको असन्तुष्टिको शृङ्खला विस्तार हुँदै गएको छ ।
यसपालिको चुनावमा ‘जल्दोबल्दो’ र वैकल्पिक शक्तिका रूपमा हेरिएको रास्वपामा चुनावकै मुखमा यस्तो लहर देखिनु राजनीतिक वृत्तमा चासोको विषय बनेको छ । खासगरी चुनावी मैदानमा उत्रिने आकांक्षा राख्नेहरू सम्हाल्न नसकेपछि पार्टी दरार बढाउँदै लागेको देखिन्छ ।
दुई साताअघि राणाले ‘बेथितिका मूकदर्शक भएर बस्न विवेक र इमानले नमानेको’ उल्लेख गर्दै पार्टी परित्याग गरेका थिए । उनले उमेदवार चयन प्रक्रियामा पार्टीभित्रकै आन्तरिक ‘प्राइमरी’ चुनावमा चलखेल भएको तथा आर्थिक अपचलन भएको गम्भीर आरोप लगाए ।
राणा पार्टी छाडेको दुई साताभित्रै नेपाली कांग्रेस प्रवेश गरिसकेका छन् । अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं–५ मा प्रतिस्पर्धा गर्दै उनले रास्वपालाई तेस्रो स्थानमा उभ्याएका थिए ।
राणाले पार्टीले बेतिथिको अन्त्य र थितिको सुरुवात गर्नुपर्ने न्यारेटिभलाई ठिक उल्टो बनाएको बताए । “सुरुमा पार्टीको नारा थियो, सुशासन, जवाफदेहिता । बेतिथिको अत्य र थितिको सुरुवात गर्नुपर्ने जुन न्यारेटिभ थियो । त्यसको ठिक उल्टो थितिको अन्त्य र बेतिथिको सुरुआत भयो,” राणाले बताएका छन ।
प्राइमरी चुनावका नाममा शुल्क उठाएर विशेष परिस्थिति भन्दै टारेको उनको भनाइ छ । “प्राइमरी इलेक्सनबाट आफ्नो उमेदवार आफैँ तयार गर्ने विधान बनेको थियो । जुन सिस्टम थियो त्यो भएन । चुनावमा विशेष परिस्थिति भनेर प्रक्रिया नै मिचेर मनोमानी गरियो,” राणाले भने ।
रुपन्देहीको निर्वाचनदेखि स्थानीय तह निर्वाचनमा कीर्तिपुर नगरपालिकामा उमेदवार नउठाएको विषयलाई कोट्याउँदै बार बार प्रश्न खडा हुँदा पनि जवाफ नपाएपछि आफू नैतिकताको आधारमा पार्टी परित्याग गर्न बाध्य भएको उनले बताए ।
“प्राइमरी इलेक्सनको नम्बर देखाउँदै प्रक्रियामै भाग नलिएका मान्छेहरूको नाम आयो । आकांक्षीहरूले २५ हजार रुपैयाँ पनि प्रक्रियामा भाग लिनका लागि दिएका हुन् । प्राइमरी ईलेक्सन नगर्ने भए किन पैसा उठाएको त्यो फिर्ता दिनुपर्यो भन्ने विषयमा आवाज उठाएँ,” उनले भने, “कार्यविधि बनाएर न्युनतम १० प्रतिशत प्रवासमा नेपालीलाई दिने भनिएको थियो । अन्तिम बन्दसूचीमा कोही पनि भएन । त्यो त स्क्याम गरेकोजस्तो देखियो । आशा देखाएर दिन दहाडै ठगी भयो । उत्तर कतैबाट पनि नपाइसकेपछि, जवाफदेहीता आर्थिक पारदर्शिता नभएपछि बस्नै सकिएन ।”
आफू अनुकूल संगठन बनाउने र आफू अनुकूल नभएको संगठन भत्काउने चलखेल भएको उनले बताए । “रास्वपाले अहिलेसम्म अधिवेशन समेत गर्न सकेको छैन । आफू अनुकूल संगठन बनाउने र आफू अनुकूल संगठन भत्काउने गरियो । जनकपुरको बैठकले पनि विधान पनि परिवर्तन गरियो । आधारभूत कुरा भनेकै ग्रासरुट हो । चुनाव पनि भोटिङबाटै फाइनल हुनपर्छ भनेर जवाफ खोजेका थियौँ,” राणाले थपे ।
पार्टीलाई योगदान दिने लामो समय काम गरेका अनुभवी विज्ञहरूलाई अवसर नदिइ भाइरल सेलिब्रेटी भित्राएको पनि उनले बताए ।
रास्वपा नुवाकोटका नेता अशोककुमार थापाले पनि फागुन ९ गते पार्टीका क्रियाकलापप्रति असन्तुष्टि जनाउँदै पार्टी परित्याग गरे । संगठन निर्माणमा रातदिन खट्ने कार्यकर्तालाई पाखा लगाइएको आरोप उनको छ । उनी अघिल्लो संसदीय निर्वाचनमा नुवाकोट जिल्ला सदस्य तथा बिदुर नगर इन्चार्जको जिम्मेवारीमा थिए । त्यही दिन सुस्ता गाउँपालिका, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का उपसभापति गुप्तसेन ठकुरीले पार्टीको ‘भनाइ र गराइ फरक’ रहेको तथा नेतृत्व अवसरवादी चंगुलमा फसेको आरोप लगाउँदै पार्टी छाडे ।
बर्दघाट नगरपालिका–१३ का सभापति जीतबहादुर हरिजन पनि रास्वपाबाट बाहिरिएका छन् । नवलपरासी सुस्ता पश्चिम–१ मा रास्वपाले विक्रम खनाललाई उमेदवार बनाएको थियो । खनाल कांग्रेसमै टिकटका दावेदार मानिन्थे । कांग्रेसबाट टिकट नपाएपछि उनी रास्वपा प्रवेश गरेका थिए । उनको प्रवेशसँगै पार्टीभित्र टिकटका आकांक्षीबीच असन्तुष्टि चुलिएको बताइएको छ ।
यसै क्षेत्रमा रास्वपाबाट महेन्द्र सेन (ठकुरी) उमेदवारका आकांक्षी थिए । उनलाई उमेदवार नबनाइएपछि असन्तुष्टि बढेको हो । सेनले अघिल्लो संसदीय निर्वाचनमा १२ हजार ४९९ मत ल्याउँदै तेस्रो स्थान हासिल गरेका थिए ।
धनगढी उपमहानगरपालिकाका संस्थापक नगर सभापति इश्वरी बिष्ट पनि रास्वपाबाट बाहिरिएका छन् । उनी अघिल्लो निर्वाचनमा कैलाली–५ बाट उमेदवार थिए । मतदानको पूर्वसन्ध्यामा उनले पार्टीको साधारण सदस्यसमेत नरहने गरी परित्याग गरेका हुन् ।
रास्वपा बाराका संगठन विभाग प्रमुख पवन चौधरीले पनि फागुन ८ गते पार्टी छाडेका छन् । उनी अघिल्लो निर्वाचनमा बारा–४ मा प्रतिस्पर्धा गर्दा चौथो स्थानमा रहेका थिए ।
वाग्मती प्रदेश उपसभापति दिनेश हुमागाईंले फागुन ७ गते पार्टीको साधारण सदस्यसमेत नरहने घोषणा गरे । उनले नेतृत्वमा नैतिक विचलन आएको, पार्टीभित्र विकृति मौलाएको, तल्लो तहका नेता–कार्यकर्तामाथि ‘दास’ व्यवहार गरिएको तथा समर्पित कार्यकर्तालाई पाखा लगाई अन्य दलबाट आएका व्यक्तिलाई प्राथमिकता दिएको आरोप लगाए ।
उनले पार्टी सदस्यता तथा उमेदवार आवेदन शुल्कको हिसाब सार्वजनिक नगरेको पनि दाबी गरेका छन् । हुमागाईं अघिल्लो निर्वाचनमा काभ्रेपलाञ्चोक–२ बाट प्रतिस्पर्धा गर्दै १० हजार ५३७ मतसहित तेस्रो स्थानमा रहेका थिए ।
मधेस प्रदेशकी संस्थापक सभापति ममता शर्माले फागुन ६ गते रास्वपा परित्याग गरिन् । त्यही दिन उनी नेपाली कांग्रेस प्रवेश गरिन् । उनलाई कांग्रेस सभापति गगन थापा ले माला लगाएर स्वागत गरेका थिए । शर्माले पूर्ववर्ती पार्टीलाई ‘दागैदाग भएका बिगबिगी’ भएको टिप्पणीसमेत गरिन् । उनी पनि पार्टीको टिकटकी दावेदार थिइन् र रास्वपाको केन्द्रीय महिला तथा सामाजिक विकास समितिकी सदस्य थिइन् ।
खासगरी रास्वपामा ‘प्राइमरी’ नीति लिएपछि त्यसैको जगमा नउभिएपछि असन्तुष्टि बढाएको देखिन्छ । रास्वपाले पार्टीभित्र ‘प्राइमरी’ चुनाव गराएर उम्मेदवार छनोट गर्ने नीति लिएको थियो । आन्तरिक प्रतिस्पर्धामा भाग लिन २५ हजार रुपैयाँ शुल्क तोकिएको थियो भने सदस्यता लिन एक हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।
तर, नेतृत्वले अनुकूल व्यक्तिलाई मात्र उम्मेदवार बनाएको आरोपसँगै यही नीति नै असन्तुष्टिको कारण बनेको देखिन्छ ।
अघिल्लो संसदीय निर्वाचनसँगै उदाएको उदाएको रास्वपा आन्तरिक व्यवस्थापन र नेतृत्वमाथिका आरोपले चुनौतीको घेरामा पार्दै लगेको देखिन्छ ।
वित्त विभागका सदस्य आचार्यले पनि दिए राजीनामा
रास्वपाको केन्द्रीय वित्त विभागका सदस्य दिनेश आचार्यले महानमन्त्रीलाई सम्बोधन गर्दै शनिबार साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएका छन् । जनताको आशा अनुसार रास्वपा अघि नबढेको निष्कर्ष निकाल्दै उनले राजीनामा दिएका हुन् ।
“पब्लिकको आशा धेरै छ । तर, पार्टीभित्र त्यस्तो छैन । यो कुरा पब्लिकमा पुगेको छैन,” उनले भने ।
राजनीतिक यात्रामा विश्राम लिएको भन्दै उनले लेखेको पत्रमा भनिएको छ, “चुनाव घोषणापछि बलियो शक्तिका रुपमा उदाएका रास्वपा सभापति रवि लामिछाने र बालेन्द्र शाहका हरेक भाषण सुन्दा ९० प्रतिशत शब्दमा निर्माण, समृद्धि र चेतनाका कुराभन्दा आक्रोश, ईश्र्या, गाली, प्रतिशोध, अनि ठोक्छौँ, थुक्छौँ, भन्ने भावना मात्रै देखिन्छ । सबै दलहरू एक व्यक्तिको इच्छाअनुसार, चल्ने वा सानो गुट सिन्डिकेटद्वारा निर्देशित हुने गरेको देखियो । त्यहाँ नैतिकता र राजनीतिक विचारधाराको अपमान भयो कुनै स्थान रहेन ।”
केही महिना पहिले सुमना श्रेष्ठ र सन्तोष परियारले पनि असन्तुष्टि जनाउँदै पार्टी परित्याग गरेका थिए । परित्याग गरेका नेताहरूले समानुपातिक शुल्क, सभापति रवि लामिछानेमाथि प्रश्न उठाउँदै असन्तुष्टि जनाएका छन् ।