प्रधानमन्त्रीका सम्बन्धमा जथाभाबी नबोल्न ओलीको चेतावनी
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना सम्बन्धमा जथाभाबी नबोल्न चेतावनी दिएका छन् । उनले प्रतिपक्षीले संसद्मा कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त गरेको सम्बन्धमा प्रश्न गर्दै जवाफ माग गरिरहेको बेला प्रधानमन्त्री ओलीको यस्तो चेतावनी आएको हो ।
एमालेको युवा संघले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा ओलीले यस्तो चेतावनी दिएका हुन् । ‘म आग्रह गर्न चाहन्छु प्रतिपक्षलाई यति सस्तो, यति हलुका, यति उत्ताउलो नहुनुस् तपाईँहरू र प्रधानमन्त्रीको सम्बन्धमा जथाभाबी पनि नबोल्नुस्, ‘ओलीले चेतावनी दिए, ‘थाहा छ तपाईँहरूको पृष्ठभूमि । के गर्न हिँड्नुभएको थियो, कता हिँड्नुभएको थियो, कहाँ आइपुग्नुभयो त्यो पनि देखिएको छ । कोही चिहानबाट नली खुट्टाका हाड निकालेर फेरि लगाउँदै हिँड्नुभएको छ । आफ्ना असफलताका कुण्ठा छर्ने थलो बनाउनुहुन्छ, संसद्लाई ?’
नेकपा (एमाले) का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले युवा सङ्घसँग कति तागत छ भन्ने कुरा मान्छेले आँकलन नै नगरेको भए देश र जनताको लागि परिआएमा यसले प्रतिगामी शक्तिसँग जस्तोसुकै मुकाविला गरेर पनि सक्षमता देखाउनुपर्ने बताउनुभयो।
“हामीले लडेर ल्याएको अधिकार खोस्ने तागत कसैको छैन। यो कुरा अझ राम्रोसँग युवाहरुले बताउन सक्छ। देशलाई कसैले अप्ठ्यारोमा पार्न खोजेमा युवा सङ्घले बाघले झम्टिए झैँ झम्टन्छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “स्वयंसेवाको यो क्रियाकलाप राम्रो थालनी हो। यस शक्तिलाई व्यवस्थित र मर्यादितरुपमा परिचालन गर्नुस्। पहिलाको युथ फोर्स जस्तै। यो एउटा निसस्त्र स्थायी टोली होस्, कोही प्रतिगामी शक्ति टाउको जुधाउन आएमा वा विकास विरोधीहरुले हाम्रा काममा अवरोध खडा गरेमा सशक्त प्रतिवाद गरोस्।”
प्रधानमन्त्री ओलीले सरकारले एउटा कर्मचारीलाई हटाउँदा केहीले छाति पिटिपिटी रोएको टिप्पणी गर्दै प्रधानमन्त्रीले जवाफ दिइरहनुनपर्ने स्पष्ट गर्नुभयो। “प्रधानमन्त्रीले जवाफ दिइसक्यो। एउटा हटायो, अर्को नियुक्ति गर्यो। सक्कियो। त्यही हो जवाफ। उहाँहरुलाई सहयोग हुने उहाँहरुले जो भन्यो त्यही नियुक्ति गर्ने हाम्रो काम हो्इन”, प्रधानमन्त्री ओलीले भन्नुभयो।
प्रधानमन्त्री ओली यही चैत १८ गतेभित्र अध्यादेशलाई प्रतिस्थापन विधेयक ल्याएर पारित गर्नुपर्ने अवस्थामा त्यसलाई रोक्न विपक्षीले सदन अवरोधको काम थालेकामा चिन्ता व्यक्त गर्नुभयो। विपक्षीलाई आग्रह गर्दै प्रधानमन्त्रीले भन्नुभयो, “यति सस्तो, यति हल्का र यति उत्ताउलो नहुनुस् तपाईंहरु, प्रधानमन्त्रीका सवालमा जथाभावी नबोल्नुस्। आखिर तपाईंहरु चिसै पानीले नुहाउनुपर्छ। हामी न मात्तिछौँ। न आत्तिन्छौँ। धैर्यपूवर्क अगाडि बढ्छौँ।”