भारत सरकारको आर्थिक सहयोगमा निर्माण हुने विद्यालय भवनको दैलेखमा शिलान्यास
भारत सरकारको आर्थिक सहयोगमा निर्माण गरिने विद्यालय भवनको शिलान्यास आज दैलेख जिल्लामा गरिएको छ । दैलेख जिल्लाको दुल्लू नगरपालिकास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बहुउद्देश्यीय भवन निर्माणको शिलान्यास आज कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका माननीय मन्त्री घनश्याम भण्डारी, काठमाडौंस्थित भारतीय राजदूतावासका काउन्सिलर अविनाश कुमार सिंह र दैलेख जिल्लाको दुल्लू नगरपालिकाका मेयर भरत प्रसाद रिजालले संयुक्त रूपमा गरेका छन ।
शिलान्यास कार्यक्रममा राजनीतिक प्रतिनिधिहरु, सरकारी अधिकारीहरु, सामाजिक कार्यकर्ताहरू तथा विद्यालयका शिक्षकहरू, विद्यार्थीहरू र उनीहरूका अभिभावकहरूको पनि उपस्थिति थियो ।
‘नेपाल-भारत विकास सहयोग’ अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा नेरु। ३.९ करोड परियोजना लागतमा श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बहुउद्देश्यीय भवन निर्माण हुन गईरहेको छ ।भारत सरकारको अनुदान सहयोमा बन्ने यो विद्यालय भवन साढे तीन तल्लेको हुनेछ जसमा हस्तकला प्रदर्शन क्षेत्र, पुस्तकालय, दुल्लू राज्यसँग सम्बन्धित सांस्कृतिक कक्ष, बहुउद्देश्यीय हल, कार्यालय क्षेत्र र अन्य सम्बद्ध सुविधाहरू समावेश हुनेछन् । यो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआइसीडीपी) को रूपमा राखिएको छ । परियोजना दैलेखको दुल्लू नगरपालिका मार्फत कार्यान्वयन गरिँदैछ ।
कर्णाली प्रदेश सरकारका माननीय मन्त्री, दैलेखको दुल्लू नगरपालिका मेयर र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा अन्य सरोकारवालाहरूले नेपाली जनताको लागि भारत सरकारले गरिरहेको विकास सहयोगको प्रशंसा गरेका छन । उनीहरूले निर्माण हुने पूर्वाधारले विद्यालयका विद्यार्थीहरू र स्थानीय समुदायलाई दुल्लू राज्यको इतिहास र संस्कृतिको बारेमा बुझ्न मद्दत गर्ने विश्वास व्यक्त गरे । यसले सिकाइको लागि उपयुक्त वातावरण सिर्जना गर्न र नेपालको कर्णाली प्रदेशमा शिक्षा र संस्कृति क्षेत्रको समग्र विकासमा योगदान पुर्याउन पनि मद्दत गर्नेछ ।
सन् २००३ यता भारत सरकारले नेपालमा विभिन्न क्षेत्रहरूमा ५६३ भन्दा बढी एचआइसीडीपीहरुमा कार्य गरेको छ र ४९५ परियोजनाहरू सम्पन्न गरिसकेको छ । यी मध्ये १५ वटा परियोजनाहरू कर्णाली प्रदेशमा रहेका छन् । यसका अलावा भारत सरकारले नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थाहरूलाई १००९ वटा एम्बुलेन्स र ३०० वटा स्कूल बस उपहार स्वरूप प्रदान गरेको छ । यी मध्ये कर्णाली प्रदेशमा ५० वटा एम्बुलेन्स र ८ वटा स्कूल बस उपहार स्वरूप प्रदान गरिएको छ ।
