भारतीय राजदूतावासद्धारा आज स्वर्ण जयन्ती छात्रवृत्ति दिवस मनाइयो
सन २००१ यता भारतबाट ४०,००० विद्यार्थीहरूलाई छात्रवृत्ति
काठमाडौंस्थित भारतीय राजदूतावासले आज २३ औं स्वर्ण जयन्ती छात्रवृत्ति दिवस मनाइएको छ । कार्यक्रममा छात्रवृत्तिद्वारा समर्थित लगभग २०० विद्यार्थीहरूको सहभागिता रहेको थियो । स्वर्ण जयन्ती छात्रवृत्ति दिवस समारोहमा उपलक्ष्यमा विश्वविद्यालय अनुदान आयोग नेपालका अध्यक्ष डा देवराज अधिकारी, काठमाडौं विश्वविद्यालयका उपकुलपति डा अच्युत वाग्ले, राजर्षि जनक विश्वविद्यालयका उपकुलपति डा अमरप्रसाद यादव, पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति डा बिजु कुमार थपलिया, मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति डा ध्रुव कुमार गौतम, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा ज्ञानेन्द्र गिरी र कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति डा शारदा थपलिया उपस्थिति थिए । कार्यक्रममा विभिन्न संस्थानका डीनहरू र प्रख्यात विद्यालयका प्रधानाध्यापकहरूको पनि उपस्थिति थिए ।
कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले स्वर्ण जयन्ती छात्रवृत्ति प्राप्त गरेका दोस्रो ब्याचका मेधावी विद्वानहरुलाई स्वर्ण जयन्ती छात्रवृत्ति रोल अफ अनर प्रदान गरेका थिए । राजदूत श्रीवास्तवले आफ्नो मन्तव्यमा स्वर्ण जयन्ती छात्रवृत्ति योजनाको २३ औं ब्याचका पुरस्कृतहरुका साथै राजदूतको रोल अफ अनरको दोस्रो संस्करणका मेधावी विद्यार्थीहरूलाई पनि बधाई दिएका थिए । वहाँले विद्यार्थीहरूलाई आआफ्नो क्षेत्रमा उत्कृष्टताको लागि प्रयास गर्न प्रोत्साहन गरेका थिए र भारतको स्टार्टअप इकोसिस्टम, इन्क्युबेशन सेन्टरहरू र अन्य सहकार्यका पहलहरूमा हुने संलग्नता मार्फत उपलब्ध हुने व्यापक अवसरहरूमाथि प्रकाश पार्नुभएका थिए ।
भारत-नेपाल आर्थिक सहयोगको ५० वर्षको स्मरणमा सन् २००२ मा प्रतिष्ठित स्वर्ण जयन्ती छात्रवृत्ति स्थापना गरिएको थियो । यस समयको अवधिसम्म छात्रवृत्ति प्राप्त गर्नेहरूको संख्या वार्षिक रुपमा २०० जना पुगेको छ । यस छात्रवृत्ति योजनाबाट नेपालका सबै ७७ जिल्लाबाट ३५०० जना भन्दा बढी नेपाली विद्यार्थीहरू लाभान्वित भएका छन् । अहिलेको ब्याचमा छात्रवृत्ति प्राप्त गर्नेहरू नेपालका ७५ जिल्लाबाट रहेका छन् जसमध्ये एक तिहाइ छात्राहरू रहेका छन् । यस वर्ष ०३ जना भिन्न क्षमता भएका विद्यार्थीहरू पनि छनोट भएका छन् ।
भारत सरकारले प्रत्येक वर्ष इन्जिनियरिङ्ग, चिकित्सा, दन्त विज्ञान, व्यवस्थापन, वाणिज्य, नर्सिङ्ग, आयुर्वेद, नृत्य, रंगमञ्च र प्रदर्शन कला लगायत विभिन्न क्षेत्रहरूमा नेपाली विद्यार्थीहरूलाई लगभग १,५०० छात्रवृत्ति प्रदान गर्ने गरेको छ । यी छात्रवृत्तिहरूले विद्यार्थीहरूलाई भारतका शैक्षिक संस्थानहरूमा पहुँच प्रदान गर्दछ र उनीहरूलाई नेपालमा स्नातक कोर्षहरूका साथै स्नातक, स्नातकोत्तर र विद्यावारिधि कार्यक्रमहरूमा शिक्षा हासिल गर्न सहयोग गर्दछ । सन् २००१ यता भारत सरकारको तर्फबाट नेपालका लागि भएका विभिन्न छात्रवृत्ति पहलहरूबाट लगभग ४०,००० विद्यार्थीहरू लाभान्वित भएका छन् ।
