८० भन्दा बढी क्याम्पसमा सर्वसम्मत नेतृत्व चयन
त्रिभुवन विश्वविद्यालयले ६२ ओटा आंगिक क्याम्पससहित अन्य एक हजारभन्दा बढी सम्बन्धन प्राप्त क्याम्पसमा तोकेको स्ववियु निर्वाचन अन्तर्गत ८० भन्दा बढी क्याम्पसमा सर्वसम्मत नेतृत्व चयन भएको छ । ६२ ओटा आंगिक क्याम्पसमध्ये धनकुटा बहुमुखी क्याम्पसमा एमालेनिकट अनेरास्ववियु र दाङको महेन्द्र बहुमुखी क्याम्पसमा काँग्रेसनिकट नेविसंघले सभापति पाएका छन् ।
अन्य आंगिक क्याम्पसमध्ये केहीमा विद्यार्थी संगठनले ताला लगाएका कारण निर्वाचन प्रक्रिया अघि बढेको छैन, भने बाँकीमा चैत ५ गते मतदान हुनेछ । त्रिवि विद्यार्थी कल्याणकारी परिषद्ले आंगिक क्याम्पसबाहेक अन्यत्रको निर्वाचन परिणाम आफूहरूकहाँ नआउने जनाएको छ ।
हालसम्म विद्यार्थी संख्या थोरै भएका साना क्याम्पसहरूमा सम्बन्धित ठाउँमै सहमतिबाट पदाधिकारी चयन भएका छन् । अहिलेसम्म प्राप्त परिणाम अनुसार एमालेनिकट अनेरास्ववियुले एक आंगिकसहित ३२ क्याम्पसको सभापति जितेको छ ।
त्यस्तै नेविसंघले एक आंगिकसहित २८ क्याम्पसमा सभापति जितेको छ । माओवादीनिकट अखिल क्रान्तिकारीले २१ र नेकपा एसनिकट अनेरास्ववियूले एक सभापति पाएका छन् ।