भ्रमको खेतिमा पीएचडी पाउन मिल्ने हो भने अहिलेको सरकारलाई दिए हुन्छ – मेयर शाह
काठमाडौं – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले भ्रमको खेतिमा पीएचडी पाउन मिल्ने हो भने केपी ओली नेतृत्वको अहिलेको सरकारलाई दिए हुन्छ भन्दै टिप्पणी गरेका छन् । केही दिनअघि सरकारले प्रमुख कार्यकारी अधिकृत नपठाएकोमा आक्रोश पोखेका शाहले ओली सरकारले छरेको भ्रमबारे ६ बुँदामा प्रष्ट पारेका छन् ।
मेयरमाथि विभिन्न प्रकारका आरोप लगाएर भ्रम छरेको उनको ठहर छ । उनी लेख्छन्, ‘भ्यू टावरको नक्सा पासको स्वीकृति मेयरले दिएको भन्ने प्रचारित भ्रम हो ।’
उनले लेखेका छन्, ‘कार्यकारी टिक्दैन भनेर फैलाउन खोजिएको भ्रम पनि छ । अहिलेसम्मको हाम्रो कार्यकालमा ४ जना कार्यकारी हटेका छन् । ४ मध्ये २ लाई हटाउनुको कारण उनीहरू भ्रष्टाचारमा संलग्न रहेको भनेर हो । के कार्यकारी टिक्छन् भन्ने देखाउन हामीले भ्रष्टहरूलाई संरक्षण गरिराख्नु पर्ने हो ? अन्य २ जनालाई सरकारले हटाएको हो, त्यो पनि महानगरलाई जानकारीसमेत नदिएर ।’ उनले सुशासनका लागि जोसँग जुध्नु परे तयार छु, तर सम्झौता गर्दिन । सुशासन कायम गरेरै छोड्ने बताएका छन् ।