मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक
सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलन गर्नुहुँदै फागुन १२ गते मन्त्रिपरिषद् बैठकका १५ वटा निर्णय सार्वजनिक गर्नुभएको हो।
मन्त्री परिषद्को बैठकले नेपाली सेनाको महासेनानी पदमा एकजना र सहायक रथी पदमा एकजनालाई बढुवा गरेको हो । साथै सरकारले एक जना महासेनानी, दुई जना सहायक रथी र एकजना उपरथीको पदावधि थप गरेको छ ।
सरकारले कृषि तथा पशुपंक्षी विकास मन्त्रालय (पशुपंक्षी विकास) भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (शिक्षा) र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवको वैदेशिक भ्रमण स्वीकृत गर्ने निर्णय गरेको छ । नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदमा शरद ओझा, कञ्चनपुरलाई नियुक्त गरेको छ ।

