एकीकृत समाजवादीको अध्यक्षमा झलनाथले गरे घनश्यामलाई समर्थन – Nepalboli

एकीकृत समाजवादीको अध्यक्षमा झलनाथले गरे घनश्यामलाई समर्थन

   २०८१ असार १२, बुधबार  

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पार्टीको १० औं महाधिवेशनमा अध्यक्ष पदमा घनश्याम भूसाललाई समर्थन गर्ने भएका छन्। बुधबार दिउँसो खनाल निवास डल्लुमा भएको छलफलमा उनीहरूबीच एकतावद्ध भएर अघि बढ्ने सहमति भएको हो। ‘हामीबीच राजनीतिक, वैचारिक र सांगठनिक नेतृत्वमा एकतावद्ध भएर जाने समझदारी भयो,’ खनालले सेतोपाटीसँग भने, ‘मैले उठाउँदै आएका राजनीतिक विचारहरू, वैचारिक कार्यदिशा बहन गर्न उहाँ सहमत हुनुभयो। त्यसपछि हामी एक भएर अघि बढ्ने निष्कर्षमा पुग्यौं।’

तपाईंले अध्यक्षको उम्मेदवारमा भूसाललाई समर्थन गर्नुभएको हो भन्ने प्रश्नमा खनालले भने, ‘मेरो राजनीतिक विचार नै उहाँले बोकेपछि म सहमत भएको हुँ।’ यही असार १६ गतेदेखि २० गतेसम्म एकीकृत समाजवादीले काठमाडौंमा महाधिवेशन गर्दैछ। महाधिवेशनमा अध्यक्ष माधवकुमार नेपाल पनि उठ्ने तयारीमा छन्।

सम्मानित नेता खनाल पछि हट्ने देखिएसँगै अध्यक्षमा नेपाल र भूसालबीच प्रतिस्पर्धा हुने देखिएको छ। महाधिवेशनमा १८७८ जना प्रतिनिधि छन्।

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै