निर्धारित समयमा ५० स्थानीय तहले ल्याउन सकेनन् बजेट
देशभरिका ७ सय ५३ स्थानीय तहमध्ये ५० पालिकाले निर्धारित समयमा बजेट ल्याउन असफल भएका छन् । २ सय ९३ नगरमध्ये जनकपुर र धरान उपमहानगरपालिका सहित १९ नगरपालिकाले बजेट नल्याएको नेपाल नगरपालिका संघले जनाएको छ । २ सय ७५ नगरले १० असारमै बजेट ल्याएका हुन् । कोसी प्रदेशका ४८ नगरपालिकामध्ये ४६ नगरले बजेट ल्याएका छन् । यस्तै मधेस प्रदेशका ७६ नगरपालिकामध्ये ६५ ले बजेट प्रस्तुत गरेका छन् ।
बागमती प्रदेशका ४५ नगरपालिकामध्ये ४३ ले बजेट समयमै ल्याएका छन् । गण्डकीका सबै २७ नगर, लुम्बनीको सबै ३६ नगर, कर्णालीका २५ नगरमध्ये २४ र सुदूरपश्चिमका सबै ३४ नगरपालिकाले समयमै बजेट ल्याएका छन् । राष्ट्रिय गाउँपालिका महासंंघका अनुसार ९३ प्रतिशत गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेका छन् । महासंघका अनुसार १० असारमा ४ सय ६० गाउँपालिकामध्ये ४ सय २९ ले बजेट प्रस्तुत गरेका हुन् । बाँकी ३० गाउँपालिकामा गाउँसभा अधिवेशन सुरु हुन नसकेको र एउटा गाउँपालिकासँग सम्पर्क हुन नसकेको महासंघले जनाएको छ ।
कोसी प्रदेशमा रहेका ८८ गाउँपालिकामध्ये तीनले बजेट पेस नगरेको महासंघले जनाएको छ । यस्तै मधेशका ५९ गाउँपालिकामध्ये १०, बागमतीका ७४ गाउँपालिकामध्ये पाँचले १० असारमै बजेट पेस नगरेका हुन् ।
गण्डकीका ५८ गाउँपालिका सबैले पेस गरेका छन् । यस्तै लुम्बिनीका ७३ गाउँपालिकामध्ये ८ ले बजेट नल्याएका हुन् । कर्णालीका ५४ मध्ये ४ ले बजेट ल्याएनन् भने सुदूरपश्चिमका सबै ५४ गाउँपालिकाले बजेट ल्याएका हुन् ।