काठमाडौं महानगरले ११ महिनामा गर्‍यो ३६ प्रतिशत बजेट मात्र खर्च – Nepalboli

काठमाडौं महानगरले ११ महिनामा गर्‍यो ३६ प्रतिशत बजेट मात्र खर्च

   २०८१ असार १०, सोमबार  

तीन क्षेत्रमा बजेट खर्च शून्य

काठमाडौं महानगरपालिकाले जेठ मसान्तसम्म कूल बजेटको ३६ प्रतिशतमात्र खर्च गरेको छ। सो अवधिमा महानगरले ३६.५५ प्रतिशत बजेट खर्च गरेको छ भने तीन क्षेत्रको बजेट खर्च शून्य देखिएको छ। सो अवधिमा जलस्रोत तथा सिंचाईंमा २ करोड रुपैयाँ बजेट विनियोजन गरिएको मध्ये जेठ मसान्तसम्म (११ महिना सकिँदासम्म) एक रुपैयाँ पनि खर्च नभएको महानगरका वित्त विभाग प्रमुख डा शिवराज अधिकारी बताउँछन् । यस्तै भुमि व्यवस्थातर्फ ६ लाख रुपैयाँ र श्रम तथा रोजगारीतर्फ १० लाख रुपैयाँ विनियोजन गरिएको थियो। तर यी क्षेत्रको बजेट खर्च शून्य रहेको महानगरले जनाएको छ ।

यस्तै सबैभन्दा बढी खर्च वित्तीय सुशासनतर्फ ७७ प्रतिशत, ऊर्जातर्फ ७० प्रतिशत र कार्यालय सञ्चालन तथा प्रशासनतर्फ ६५ प्रतिशत खर्च भएको छ। महानरले चालू वर्षका लागि २४ अर्ब ८ करोड ५७ लाख रुपैयाँ विनियोजन गरेकी थियो ।

जेठ मसान्तासम्ममा ८ अर्ब ८० करोड ४३ लाख रुपैयाँमात्र खर्च गरेको छ । सो अवधिमा क्षेत्रगततर्फ सबैभन्दा बढी पूर्वाधार विकासतर्फ ३ अर्ब ४८ करोड र सामाजिक विकासतर्फ २ अर्ब १० करोड खर्च भएको छ। कार्यालय सञ्चालन तथा प्रशासनतर्फ २ अर्ब २४ करोड रुपैयाँ खर्च भएको महानगरले जनाएको छ ।

आर्थिक विकासतर्फ २१ करोड र सुशासनतर्फ ७६ करोड रुपैयाँ खर्च भएको छ। सबैभन्दा बढी खर्च भवन, आवास र सहरी विकासतर्फ २ अर्ब ३१ करोड खर्च हुँदा शिक्षामा १ अर्ब ३६ करोड खर्च भएको छ भने यातायात पूर्वाधारमा ७२ करोड खर्च भएको छ।

पर्यटनतर्फ १७ करोड, स्वास्थ्यतर्फ १९ करोड, भाषा–संस्कृतितर्फ १८ करोड, सामाजिक सुरक्षा र संरक्षणतर्फ १६ करोड, सम्पदा पूर्वाधारतर्फ ३० करोड, वातावरण र जलवायुतर्फ ३५ करोड, शासन प्रणालीततर्फ १३ करोड तथा लैंगिन समानता तथा सामाजिक समावेशीकरणतर्फ ११ करोड रुपैयाँ खर्च भएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै