निलम्बित मुख्यसचिव अर्याल राष्ट्रिय योजना आयोगमा सरुवा
सरकारले निलम्बित मुख्यसचिव डा वैकुण्ठ अर्याललाई राष्ट्रिय योजना आयोगमा सरुवा गरेको छ । सोमबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले निलम्बित मुख्यसचिव अर्याललाई राष्ट्रिय योजना आयोगमा राजपत्राङ्कित विशिष्ट श्रेणीको मुख्यसचिवसरहको विशेष पद सिर्जना गरी सरुवा गरेको हो ।
मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउनुहँदै सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले भन्नुभयो, ‘‘नेपाल सरकारका मुख्यसचिव डा वैकुण्ठ अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएकोमा प्रचलित कानुन बमोजिम निज स्वतः निलम्बन हुनुभएको छ । हाललाई राष्ट्रिय योजना आयोगमा राप विशिष्ट श्रेणीको मुख्यसचिवसरहको विशेष पद सिर्जना गरी निजलाई उक्त पदमा सरुवा गर्ने ।’’