मनसुनजन्य घटनाका समयमा समन्वय र सहकार्य गरी काम गर्न सञ्चार-मन्त्रीको निर्देशन – Nepalboli

मनसुनजन्य घटनाका समयमा समन्वय र सहकार्य गरी काम गर्न सञ्चार-मन्त्रीको निर्देशन

   २०८१ असार ५, बुधबार  

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले आगामी मनसुनजन्य घटना बाढीपहिरो, डुवान र चट्याङबाट हुने जनधनको क्षतिलाई न्यूनीकरण गर्न मातहतका निकायलाई सम्पर्क, समन्वय र सहकार्य गरी कार्य गर्न निर्देशन दिएकी छिन् । मनसुनजन्य घटनाबाट हुन सक्ने जनधनको क्षतिबाट जोगिन र समयमै जनचेतना प्रदान गर्न मातहतका निकायबाट भइरहेका आवश्यक पूर्वतयारीबारे जानकारी लिँदै उनले विपद्का समयमा तत्काल सम्पर्क गर्ने र सूचना प्रवाह गर्ने कार्यलाई प्रभावकारी तुल्याउन सुझाव दिइन्।

मन्त्री शर्माले भनिन्, ‘मनसुनको पूर्वसूचना दिने, विपद्का घटनाको तत्काल सही सूचना प्रवाह गरी राहत र उद्धार कार्यमा सबैको सहयोग र समन्वय हुन आवश्यक छ।’

कल्पना नै नगरेको ठाउँमा बाढी-पहिरो र डुबानका घटना भएका प्रशस्त उदाहरण रहेकाले राहत र उद्धारका लागि गर्नुपर्ने पूर्व तयारीको पाटोलाई विशेष ध्यान दिन सुझाव दिँदै मन्त्री शर्माले बर्षाद्का कारण अवरुद्ध हुनसक्ने सञ्चार सम्पर्कलाई नियमित तुल्याउनेतर्फ प्रभावकारी तयारी व्यवस्थापनको खाँचो औँल्याइन्।

विपद्जन्य घटनाकारण इन्टरनेट सेवा प्रवाह र दूरसञ्चार सेवामा प्रवाहमा पर्न क्षतिको आकलन गरी तत्काल सुचारु तुल्याउने संयन्त्र निर्माण गर्न सुझाव दिँदै उनले पूर्व सूचना सङ्कलन र विपद्बाट बच्न अपनाउनुपर्ने सचेतना समयमै प्रवाह गर्न सुझाव दिइन्।

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै