कानुनमन्त्री गिरीसँग चिनियाँ न्यायाधीश गुइसियाङको भेटवार्ता – Nepalboli

कानुनमन्त्री गिरीसँग चिनियाँ न्यायाधीश गुइसियाङको भेटवार्ता

   २०८१ असार ४, मंगलवार  

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीसँग नेपाल भ्रमणमा रहनुभएका चिनियाँ सर्वोच्च जनता अदालतका कमिटी सदस्य तथा न्यायाधीश लिउ गुइसियाङले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ । सिंहदरबारस्थित मन्त्रालयमा मंगलबार भएको दुई पक्षीय भेटमा मन्त्री गिरीले नेपाल भ्रमण गर्नुभएकोमा खुसी व्यक्त गर्दै धन्यवाद ज्ञापन गर्नुभयो । नेपाल र चीनबिच रहँदैआएको सदियौँदेखिको घनिष्ठ सम्बन्ध कायम गरी नेपाल सदैव एक चीन नीतिको पक्षमा रहेको विश्वास दिलाउनुभयो ।

चीनले नेपालको विकासमा गर्दै आएको योगदानप्रति मन्त्री गिरीले धन्यवाद ज्ञापन गर्नुभयो । नेपाल र चीनबिच हुँदैआएको न्यायपालिका बिचको अनुभव आदान प्रदानलाई निरन्तरता दिनुपर्ने उहाँले बताउनुभयो । कानुन र न्याय क्षेत्रमा समेत पारस्परिक सहयोग अभिवृद्धि हुने विश्वास मन्त्री गिरीले व्यक्त गर्नुभयो ।

सो अवसरमा न्यायाधीश लिउ गुइसियाङले नेपाल र चीनबिचको सम्बन्ध ऐतिहासिक र जनस्तरमा रहेको भन्दै आगामी दिनमा पनि त्यसलाई कायम गर्नुपर्ने बताउनुभयो । आफूलगायत भ्रमण टोलीलाई नेपाल सरकारले गरेको स्वागतप्रति उहाँले खुसी व्यक्त गर्नुभएको मन्त्री गिरीका प्रेस संयोजक श्रीधर पौडेलले बताउनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै