भरतपुर महानगरपालिकाद्धारा चार हजारभन्दा बढीलाई सिपमूलक तालिम – Nepalboli

भरतपुर महानगरपालिकाद्धारा चार हजारभन्दा बढीलाई सिपमूलक तालिम

   २०८१ असार ४, मंगलवार  

देशभित्रै रोजगारी सिर्जना गरी स्वरोजगार बन्ने र थप रोजगारी सिर्जना गर्ने उद्देश्यले भरतपुर महानगरपालिकाले चालु आर्थिक वर्षमा चार हजार ५२४ जनालाई विभिन्न प्रकृतिका सिपमूलक तालिम दिएको छ ।

उत्पादनलाई प्राथमिकतामा राख्दै आएको भरतपुर महानगरपालिकाले एकदिनेदेखि चारमहिनेसम्मका विभिन्न सिपमूलक तालिम दिएको हो । पछिल्लो समय वैदेशिक रोजगारीमा जाने क्रम बढेसँगै उनीहरूलाई स्वरोजगार बनाई देशभित्रै रोजगारी सिर्जना गर्ने उद्देश्यले तालिम चलाइएको महानगर प्रमुख रेनु दाहालले बताउनुभयो ।

देशभित्रै केही गरौँ भन्नेहरूलाई मात्र नभएर विदेशी भूमिमा काम गर्न पनि तालिमले सहज बनाउने भन्दै उहाँले महानगरले पूर्वाधार विकाससँगै विभिन्न परियोजनामा दक्ष जनशक्तिको माग भएकाले निःशुल्क तालिमलाई जोड दिइएको जानकारी दिनुभयो । उहाँले हाल नेपालका अधिकांश उद्योग र कलकारखानामा दक्ष कामदार विदेशबाटै आउने गरेका आफूले पाएको भन्दै नेपालमा काम गरिरहेका विदेशी कामदारलाई प्रतिस्थापन गरी नेपालीले काममा प्राथमिकता पाउनु पर्छ भन्ने आफ्नो मान्यता रहेको बताउनुभयो । महानगरको रोजगार शाखाका अनुसार महानगरले उपलब्ध गराएको तालिममा ब्युटी पार्लर, बालबालिकाको क्षमता वृद्धि, महिलाको आन्तरिक क्षमता वृद्धि, बुटिक र पोते बनाउने तालिम छन् ।

त्यस्तै कौसी खेती, पन्चैबाजा बजाउने, मादल तथा खैँजडीमा खरी भर्ने, मन्टेसरी, झोला, जुत्ता तथा चप्पल बनाउने, अचार बनाउने, प्लम्बिङ र विद्युत् वायरिङ, कृषि र बेकरी निर्माणसम्बन्धी विभिन्न तालिम दिइएको थियो । तालिममा लुगा धुने र नुहाउने साबुन, भाँडा माझ्ने झोल साबुन तथा फिनेल बनाउने तालिम दिइएको थियो । महानगर प्रमुख दाहालका अनुसार महानगरले आगामी आवमा निःशुल्क तालिम दिने कार्यक्रम वृद्धि गर्दै लैजाने छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै