लोकतन्त्र समाप्त गर्न खोज्दैछन अतिवादीहरू – डा शेखर कोइराला – Nepalboli

लोकतन्त्र समाप्त गर्न खोज्दैछन अतिवादीहरू – डा शेखर कोइराला

   २०८१ जेष्ठ ३२, शुक्रबार  

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कांग्रेसमाथी चौतर्फी आक्रमण हुन थालेकाले पार्टीमा निष्क्रिय भएर बसेका नेताहरूलाई सक्रिय हुन आग्रह गरेका छन् । कांग्रेसलाई कमजोर पारे मात्रै लोकतन्त्र समाप्त गर्न सकिन्छ भन्ने सोचबाट केही अतिवादी शक्तिहरु सक्रिय भएको बताउँदै कोइरालाले कांग्रेस जटिल मोडमा पुगेको बताए ।

कोइरालाले राष्ट्रियता र लोकतन्त्र बचाउँन कांग्रेस मात्रै सक्षम भएको बताउँदै अब बलियो कांग्रेसको आवश्यकता रहेको बताउँदै भने, ‘बिभिन्न समयमा पार्टी छाडेर अन्यत्र गएकाहरु पनि अब कांग्रेसमा फर्कनु पर्ने बेला भइसकेको छ। सबैलाई फर्कन म आग्रह गर्छु।’ उनले यतिबेला कांग्रेसको घर कमजोर भएको भन्दै भने, ‘पार्टी छाड्नुभएका तपाईं साथीहरूको आवश्यकता परिरहेको छ त्यसैले जे–जे कारणले पार्टी छाडेको भए पनि अब सबै तिक्तता बिर्सेर पार्टीमा फर्किएर मुलुक हितमा काम गर्न मेरो सबैलाई आग्रह छ।’

हिजो पार्टी सञ्चालन गर्दा नेताहरूबाट पनि गल्ती भएको हुन सक्छ भन्दै उनले भने,‘सबैले आ–आफ्नो कमि कमजोरी स्विकार्दै पार्टी बलियो बनाउन लागौँ ।’ नेपाली कांग्रेस धनुषाले जनकपुरमा आयोजना गरेको कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै कोइरालाले गुटबन्दीले पार्टी थिलथिलो बनेको बताए। पार्टीमा अव गुटबन्दी नगरौँ भन्दै उनले भने, ‘गुटबन्दीकै कारण योग्य र ईमान्दार मानिसहरु पछाडि पर्दै गएको छ। यसलाई चिरेर अघि बढ्न सक्नुपर्छ।’

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै