कांग्रेसद्वारा प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक अवरुद्ध
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अवरुद्ध पारेपछि प्रतिनिधि सभा बैठक पनि स्थगित भएको छ । मङ्गलबारको प्रतिनिधि सभा बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्ने र राष्ट्रपति पौडेललाई धन्यवाद ज्ञापन गर्ने कार्यसूची रहेको थियो । तर विषयमा प्रवेश गर्न नपाउँदै कांग्रेसले नाराबाजी गरी अवरुद्ध गरेसँगै बैठक आजका लागि स्थगित गरिएको हो ।
कांग्रेसले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा सरकारले संसदीय छानबिन समिति बनाउन माग गर्दै आएको छ । अर्को बैठक जेठ ३ गते बिहीबार ११ बजे बस्नेगरी बोलाइएको छ ।
यस्तै कांग्रेसका सांसदहरुको विरोधपछि राष्ट्रिय सभाको आजको बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको छ । सहकारी प्रकरणको छानबिनका लागि संसदीय छानबिन समिति गठन गर्नुपर्ने कांग्रेसका सांसदहरुको माग थियो ।
सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपतिबाट सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकलाई गर्नुभएको सम्बोधनको प्रति टेबल गर्ने कार्यक्रम थियो । सो बैठकमा सभाध्यक्षले राष्ट्रपतिलाई धन्यवादको प्रस्ताव प्रस्तुत कार्यसूची थियो । राष्ट्रियसभाको अर्को बैठक यही जेठ ३ गते बिहिबार अपराह्न १ः१५ बजे बस्नेछ ।