जसपा छाडेर नेताहरुद्धारा पहिचानवादी मोर्चा घोषणा
जनता समाजवादी पार्टी (जसपा) नेपाल फेरि फुटेको छ । संघीय लिम्बुवान पार्टी नेपाल एकीकरण भएर जसपा नेपालमा समाहित भएका नेताहरूले पार्टी विभाजनप्रति असन्तुष्टि जनाउँदै जसपा नेपाल छाडेका हुन् । बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी उनीहरुले जसपा नेपाल परित्याग गरी पहिचानवादी मोर्चा घोषणा गरेको जनाकारी दिए । उनीहरुले प्राडा महेन्द्र लावतीको संयोजकत्वमा मोर्चा घोषणा गरेका हुन् ।
पछिल्लो समय पार्टीका मुख्य नेतृत्वहरू पहिचानले निर्दिष्ट गरेको मुद्दाभन्दा पनि सत्ताको खेलमा लागेको, गैर–लोकतान्त्रिक आचरण अवलम्बन गरेको, पहिचानको आन्दोलनमा सक्रिय नभएको उनीहरूको आरोप छ । सत्ताको खेलका कारण नै अशोक राईको नेतृत्वमा पार्टी विभाजन भएको उनीहरूको निष्कर्ष छ ।
पहिचानका मुद्दालाई सशक्त बनाउन, विभिन्न समूहमा अलग–अलग रही काम गरिरहेका पहिचानवादी दल तथा शक्ति, संगठन, अभियन्ता तथा व्यक्तित्वहरू सबैलाई नयाँ शिराबाट एकताबद्ध भई अघि बढ्न मोर्चाले आह्वान गरेको छ ।
पहिचानवादी मोर्चाका संयोजक प्राडा महेन्द्र लावतीले नेपालमा सदियौँदेखि एकल जातीय राज्य स्थापित भएको र आज पनि एकल जातीय राज्य कायमै रहेको बताए । नेपाल बहुजातीय समाज भएकाले नेपाली राज्य पनि बहुजातीय हुनुपर्ने, सबैको पहिचान स्थापित हुनुपर्ने उनको भनाइ छ ।
जसपा नेपालमा पहिचानबारे विचार राम्रोसँग समेटिएकाले आफूहरू पहिला उक्त पार्टीमा लागेको उनले बताए । पछिल्लो समयमा पहिचानको आन्दोलन र पहिचानको विस्तारमा जसपा नेतृत्वले समर्थन नगरेको उनको भनाइ छ ।