मधेस प्रदेशका ५० प्रतिशत नेता आफ्नो पक्षमा- जसपा अध्यक्ष अशोक राई
जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राईले मधेस प्रदेशमा पचास प्रतिशत सांसद आफ्नो पक्षमा रहेको दाबी गरेका छन् । जसपा नेपालबाट विभाजित भएर नयाँ पार्टी बनेपछि बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले सो दाबी गरेका हुन् । निर्वाचन आयोगले दल स्पष्ट हुनका लागि प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई २१ दिनको समय दिइसकेको उल्लेख गर्दै उनले त्यस अवधिमा मधेस प्रदेशका थुप्रै नेता तथा कार्यकर्ता आफ्नो पक्षमा आउने दाबी गरे ।
राईले भने, ‘हामीले कसैसँग लेनदेनको आधारमा यो पार्टी विभाजन गरेको होइन, हामी अन्यायमा परेका कारण अलग भएका हौँ ।’ आफू नेतृत्वको पार्टी देशव्यापी रूपमा अगाडि बढाउने बताउँदै उनले विभिन्न दलसँग एकता गर्नका लागि पहल गर्ने पनि बताए ।
अदालतको ढोका खुला छ
जनता समाजवादी पार्टीका महासचिव इस्तियाक राईले पार्टीमा उपेन्द्र यादवले कसैको अस्तित्व स्वीकार नगरेको आरोप लगाए । बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष राईले पार्टी फुट्नु रहर नभई बाध्यता भएको बताए । अन्याय धेरै दिनसम्म सहन नसकेर अलग भएको उनको भनाइ थियो ।
उनले निर्वाचन आयोगजस्तो संस्थाले सबै अध्ययन गरेर आफूहरूको दल दर्ता गरेको पनि बताए । ‘यदि चित्त बुझेको छैन भने अदालतको ढोका खुला छ’, उनको भनाइ थियो ।
श्रीपेच लगाउन महाधिवेशन
नवगठित जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष अशोक राईले जसपा नेपालको महाधिवेशनलाई एकताको महाधिवेशन नबनाएर कुनै एक व्यक्तिलाई श्रीपेच लगाउने गरी अघि बढाएपछि पार्टी विभाजन गर्न बाध्य बनेको स्पष्टीकरण दिएका छन् । उनले महाधिवेशनबाट पार्टीको समस्या समाधान गर्नेभन्दा पनि पार्टीलाई कब्जा गर्ने रणनीति लिइएको आरोप लगाएका हुन् ।
बिहीबार आयोजित पत्रकार सम्मेलनमा ‘आसन्न महाधिवेशनमा अल्मतमा पर्ने देखेपछि पार्टी विभाजन गर्नुभएको हो ?’ भन्ने सञ्चारकर्मीको प्रश्नमा अध्यक्ष राईले भने, ‘यहाँ अल्पमत र बहुमतको कुरा भएन । महाधिवेशनलाई एकताको महाधिवेशन भनिएको थियो । पार्टीभित्रको अन्तर्विरोध र समस्यालाई समाधान गर्न र अगाडिको मार्ग प्रशस्त गर्ने यसको उद्देश्य थियो । तर, यहाँ कुनै नेतालाई श्रीपेचलाई लगाउन खोजियो । पार्टी कब्जा गर्ने रणनीति देखियो ।’
उनले महाधिवेशनका लागि प्रतिनिधि छनोटप्रति नै प्रश्न उठाए । उनले अनियमित ढङ्गले महाधिवेशन प्रतिनिधि छनोट गरिएको दाबी गरे । ‘१० दिन १० रात लगाएर सदस्य थप्ने । तर सदस्यताको रेकर्ड र प्रमाणीकरण गर्न नपाइने । संगठित सदस्यता र पार्टी सदस्यता हुनुपर्नेमा त्यो भिन्न पनि गरेको छैन । प्रमाणीकरण गरेर महाधिवेशन गरौँ भन्दा त्यो फारम कहाँ छ, किन गर्ने भन्ने अस्वीकार गर्ने स्थिति भयो,’ उनले भने, ‘महाधिवेशनमा प्रतिनिधि छनोटको अनुपात पनि सन्तुलित ढङ्गले गरिएन ।’
यता पार्टी महासचिव इस्तियाक राईले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले आफूभन्दा सिनियर नेतालाई सम्मान गर्न नजानेको आरोप लगाए । कुनै शीर्ष नेताले यादवको स्वेच्छाचारी चरित्र प्रश्न उठाउँदा ती नेतालाई विस्थापित गर्ने गरेको उनले जिकिर गरे ।
‘अध्यक्ष अशोक राई केन्द्रीय उपाध्यक्ष हुँदा उपेन्द्र यादव जिल्ला कमिटीमा हुनुहुन्थ्यो । तैपनि उहाँको नेतृत्व स्वीकार गरेर अघि बढ्नु भयो । तर, उहाँले महन्थ ठाकुर, बाबुराम भट्टराईजस्ता सिनियर नेताहरूलाई पनि सम्मान गर्न सक्नु भएन । जसले गर्दा पार्टी पटक–पटक विभाजन हुँदै आयो,’ उनको आरोप थियो ।