चारवटा संसदीय समितिको बैठक आज
संघीय संसदका चार वटा संसदीय समितिको बैठक आज बस्दै छ। संसद सचिवालयका अनुसार शुक्रबार बिहान ११ बजे संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ। विपद् व्यवस्थापन (विपद् जोखिम न्यूनीकरण, विपद् प्रतिकार्य र विपद् पुनर्लाभ) सम्बन्धमा गृह मन्त्रालयबाट भएका काम कारवाही, विपद् जोखिम न्युनिकरणको लागि तयारी तथा भावी कार्ययोजनाबारे छलफलका लागि बैठक बोलाइएको हो।
त्यसैगरी बिहान ११ बजे नै महिला तथा सामाजिक मामिला समितिको बैठक पनि बस्दैछ। बैठकमा नेपालमा ज्येष्ठ नागरिकसम्बन्धी विद्यमान कानून, उनीहरूका लागि राज्यका तर्फबाट भएका व्यवस्था, बुढ्यौली जनसंख्या तथा वृद्धाश्रम ज्येष्ठ नागरिक मिलन केन्द्रको वर्तमान अवस्थाका विषयमा छलफल गर्ने तयारी छ।
दिउँसो १ बजे विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दैछ। बैठकमा आगामी बजेट २०८१/०८२ का सम्बन्धमा पूर्वबजेट छलफल हुने समितले जनाएको छ।
त्यसैगरी शुक्रबार दिउँसो २ बजे राज्य व्यवस्था तथा सुशासन समितिको बैठक पनि बस्दै छ। बैठकमा समितिबाट हुने अनुगमनका सम्बन्धमा छलफल हुने बताइएको छ।