सुदूरपश्चिम मुख्यमन्त्री सोडारी विश्वासको मत लिँदै – Nepalboli

सुदूरपश्चिम मुख्यमन्त्री सोडारी विश्वासको मत लिँदै

   २०८१ बैशाख २१, शुक्रबार  

सुदूरपश्चिम मुख्यमन्त्री दीर्घ सोडारीले शुक्रबार बेलुका बस्ने प्रदेश सभा बैठकबाट विश्वासको मत लिँदैछन्। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने वा नदिने भनेर नागरिक उन्मुक्ति पार्टीका सांसदहरू दुई पक्षमा उभिएका छन्। पार्टी संरक्षक रेशम चौधरी पक्षका प्रदेश सांसदहरूले विश्वासको मत नदिने निर्णय लिएका छन्। अर्कोतिर, अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षका सांसदहरूले भने विश्वासको मत दिने तयारी गरिरहेका छन्।

गत फागुन २१ मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन परिवर्तन गरेपछि नै नाउपाभित्र विवाद देखिएको छ। त्यसको सुरुवात नै सुदूरपश्चिम प्रदेशबाट भएको थियो। त्यहाँ संरक्षक रेशम चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठ आ-आफ्नै रणनीतिमा अघि बढिरहेका छन्। तत्कालीन कांग्रेस सरकारमा चौधरी पक्षले आफ्ना सांसदहरूलाई मन्त्री बनाएको थियो। अहिले एकीकृत समाजवादी नेतृत्वको सरकारमा श्रेष्ठ पक्षले आफ्ना सांसदहरूलाई मन्त्री बनाएको छ।

यसअघिका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत दिने तयारी थाल्दा नाउपाको पार्टी केन्द्र र प्रदेश सभा संसदीय दलले विपरीत किसिमका छुट्टाछुट्टै ह्विप लगाएका थिए। तर त्यति अन्तिम समयसम्म विश्वासको मत पाउने सम्भावना नदेखेपछि शाहले प्रदेश प्रमुख समक्ष राजीनामा बुझाएका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै